सकियो उजुरी समय
निर्वाचन आयोगमा मनोनयन पत्र दर्ता भई उम्मेदवारको सूचीमा समावेश भएका उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अयोग्यको प्रमाणसहित उजुरी परेको छ । हिजो ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१६ बमोजिम उजुरी दिन सकिने व्यवस्था अनुसार उजुरी परेको हो । निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची–१७ अनुसार दर्ता किताबमा दर्ता गरी अनुसूची–१८ बमोजिमको भरपाइ उजुरीकर्तालाई उपलब्ध गराइएको छ।
उजुरी दर्ताको म्याद समाप्त भएपछि निर्वाचन अधिकृतले म्यादभित्र दर्ता भएका उजुरीको विवरण तयार गरी कार्यालयमा प्रकाशन गर्ने कार्यक्रम छ । प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो उम्मेदवारले तोकिएको अवधिभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने छ। सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सो सूचना पाएको मानिने छ।
आयोगका अनुसार आज दिउँसो ३ बजेदेखि भोलि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ। भोलि बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
पर्सि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि दिउँसो ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै छ ।
टिप्पणीहरू