​सत्ताको सुखद संकेत

बीचमा जतिसुकै असन्तुलन, असमझदारी भए पनि खुशीको कुरा के छ भने, सम्माननीय प्रधानमन्त्री केपी ओलीमा अहिले सहिष्णुता र सौहार्द्रताबोध बढेको छ । र, सरसल्लाहमा चल्नुपर्छ भन्ने भावनाको विकास भएको छ । प्रमसँगको भेटघाट र छलफलमा सहभागी भएकाहरुले यस्तै बुझेका छन् ।

पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम हुँदै ६ वर्षदेखि भेट नपाएका घनश्याम भुषालसँगकै वार्ता किन नहोस्, प्रमको कार्यशैलीमा त्यस्तो सुधार आएको बुझिन्छ । वर्तमान सरकारको वार्षिक समीक्षा गर्नका लागि असार २५ र २६ गते बोलाइएका मन्त्री र सचिवसामु व्यक्त धारणाले पनि त्यही भन्छ । अर्थात्, प्रधानमन्त्रीले कतिपय कमजोरी स्वीकार्दै त्रुटी सच्याउने तत्परता देखाउनु भएको छ । यी सबै र फरक सन्दर्भका भेट र छलफलमा सहभागीहरुको साझा निश्कर्ष पनि त्यही हो । मन्त्री र सचिवसँगको छलफलमा सबैको रिपोर्टिङ सुनेपछि तोकिएका काममध्ये जम्मा ६० प्रतिशत मात्र गर्न सकिएको कुरा प्रम स्वयंले भन्नुभयो ।

‘पहिला–पहिला पनि वर्षमा यस्तै ६० प्रतिशतमात्र काम हुने गरेको थियो । हामीले पहिलाका भन्दा फरक, नयाँ र धेरै काम उति गरेका रहेनछौँ’, प्रमले सबैका कुरा सुनेपछि भन्नुभयो, ‘यसको मतलब खासै गर्न सकेका रहेनछौँ । झूठो विवरण पेश गर्ने, काम गरेजस्तो देखाउने, तर खासै काम नहुने अवस्था रहेछ ।’ देशका कार्यकारी प्रमुखमा आएको यस्तो आत्मबोधलाई समेटेर मुलुकलाई अघि बढाउने शिक्षाका रुपमा ग्रहण गर्ने हो भने विकासले फड्को मार्न कत्ति पनि बेर लाग्दैन । तर समस्या छ, महसूस नै नगर्ने । तलबाट तथ्यगत विवरण लिएर, त्यसको अध्ययन, अन्वेषणका आधारमा काम गर्ने चलन शुरु भएकै रहेनछ । अहिले प्रममा आएको रियलाइजेशनलाई यस मानेमा सुखद् लक्षण मान्न सकिन्छ ।

टिप्पणीहरू