ईलाले छोडिन्

ईलाले छोडिन्

नबिल बैंक सञ्चालक समितिकी स्वतन्त्र सञ्चालक ईला शर्माले अन्ततः राजीनामा दिएकी छिन् । गतसाता जनआस्थाले नेपाल राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धी निर्देशनलाई शर्माले धोती लगाइदिएको समाचार स–प्रमाण प्रकाशित गरेको थियो ।

गत पुसमा नबिलको स्वतन्त्र सञ्चालक बनेकी ईलाले बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोगगरी जारी निर्देशनको पालना गरेकी थिइनन् । यसबीचमा केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागको स्थलगत सुपरीवेक्षण टोलीले पनि उनले पालना नगरेको विषयलाई आँखा चिम्लिदिएको थियो ।

देवर राजीवराज पौडलेको नाममा लिइएको १५ लाख रुपैयाँ बराबरको ओभरड्राफ्ट कर्जा र धितो कर्जा वापतको १५ लाख रुपैयाँको निम्ति शर्मा जमानी बसेकी थिइन् । केन्द्रीय बैंकको निर्देशनबमोजिम कुनैपनि बैंक तथा वित्तीय संस्थाका सञ्चालकले आफ्नो संस्थाबाट कर्जा उपभोग गरेका ऋणीको लागि जमानी बस्न पाईंदैन ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनबमोजिम कुनैपनि व्यक्ति सञ्चालकमा नियुक्त भएपछि कार्यभार सम्हाल्नुभन्दा पहिले नै आफ्नो संस्थासँग वित्तीय स्वार्थ भए÷नभएको कुरा सञ्चालक समितिलाई लिखित रुपमा जानकारी गराउनुपर्छ । तर, उनले सो पनि गरेकी थिइनन् । शर्मा यसअघि संवैधानिक अंग निर्वाचन आयोगकी सदस्य थिइन् ।

प्रचलित कानुन र नियम मिचेर नबिल बैंकको सञ्चालक बनेपछि गरेको उनको निर्णय र प्राप्त सुविधाको बारेमा पनि अब प्रश्न चिन्ह् उठेको छ । केन्द्रीय बैंक शर्माको गैरकानुनी नियुक्तीबारे प्रकाशित समाचारको सम्बन्धमा एक हप्तासम्म बेखबर झैं देखियो । सम्भवतः राष्ट्र बैंककै कोही कसैले कारबाहीको प्रक्रिया थाल्नुअघि नै राजीनामा दिन सुझाएपछि ईलाले राजीनामा बुझाएको स्रोतको दाबी छ । केन्द्रीय बैंकका अधिकारीहरू गतसाता ईला शर्मालाई कारबाही भन्दापनि जनआस्था अनलाईन सस्पेण्ड (निलम्बन) गर्नमै व्यस्त थिए ।

टिप्पणीहरू