बालेनको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब पार्किङस्थल
राहदानी विभागले आउँदो आइतबारदेखि सेवाग्राही बस्न प्रयोग हुँदै आएको बेसमेन्ट पार्किङस्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । काठमाडौँ महानगरका मेयर बालेन साह नेतृत्वको टोलीले आज दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएर पार्किङस्थलका रुपमा प्रयोग गर्न निर्देशन दिएपछि विभागले उक्त निर्णय गरेको हो ।
अवैध रुपमा बनेका संरचना र अनुमतिविपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका सामन राखेपछि हटाएको थियो । महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्टसेवाग्राहीका लागि पार्किङकै रुपमा प्रयोग गरिने जानकारी दिएको हो ।
विभागले भिडभाड हुने गरि कार्यालयमा नआइदिन सेवाग्राहीलाई अनुरोध पनि गरेको छ । विज्ञप्तिमा आइतबारदेखि लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राहीमात्र आवेदनका लागि आउन भनिएको छ भने आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र उपस्थित हुन् आग्रह गरिएको छ ।
त्यस्तै, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन पनि विभागले आग्रह गरेको छ ।
टिप्पणीहरू