चौतारीलाई यति भएपछि कसले चिन्ने ?
मुख्य राजनीतिक दल एमालेनिकट प्रेस चौतारीमा कामकाजी भन्दा नामधारी पत्रकारहरूको संख्या बढेपछि मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा प्रचारको काम लथालिंग हुने छेकछन्द देखिँदै छ । अत्यन्तै ऊर्जावान अध्यक्ष गणेश बस्नेतको जनताटाइम्स अनलाइन त्यहींको वैंशालु युवा टिमले दिउँसो हेर्दा घरपरिवारका अरुले देख्छन् कि भनेर, राति एक्लै हेर्नुपर्ने बनाएको भन्दै प्रेस काउन्सिलले पुर्जी काटेको देखिन्छ ।
उपाध्यक्ष देविका घर्ती तगडैका साथ हिमाल खबरमा लेख्छिन् । अर्का उपाध्यक्ष राजेश राई क्षमतावान पत्रकारका रूपमा चिनिन्छन् । उनले नयाँ पेज अनलाइन राम्रैसँग चलाएका छन् । तेस्रा उपाध्यक्ष गणेश पाण्डे विदेशतिर डकुमेन्ट्री प्रदर्शन र नेचुरल थेरापी हस्पिटलमा रमाएका भेटिन्छन् । सहायक श्रीमानलगायत राम्रो डकुमेन्ट्री निर्माण गर्ने पाण्डेको लेख्ने अखबार भने छैन । त्यसैगरी दाङ घर भएका उपाध्यक्ष सविन प्रियासन चौतारीको बैठकमा सहभागी हुन काठमाडौंसमेत आउन सक्दैनन् भनिन्छ । यस्तो बेला पत्रकारिताको मूलधारमा बसेर आउँदो निर्वाचनमा पार्टीलाई सहयोग गर्ने प्रभावशाली नेतृत्वको अभाव चौतारीमा खट्किएको छ ।
संगठनलाई चलायमान बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने महासचिव हिरामान लामा सोझो र इमान्दार देखिन्छन् । पत्रकारितामा उनको ठूलो हाइहुई–फाइँफुइँ छैन । उनलाई सहयोग गर्ने उपमहासचिव राजु सुवेदी भने केही वर्ष अष्ट्रेलिया बसेर फर्किआएका हुन् । उप–महासचिव हुनुअघि एमाले काठमाडौं जिल्ला कमिटी सदस्य रहेका सुवेदी पत्रकारिताबाहेक अर्थोक सबै काम गर्न सक्षम छन् भनेर कमिटीमा चर्चा गरिन्छ ।
नयाँ पत्रिकामा आबद्ध उपमहासचिव सुरोजंग पाण्डे भने पत्रकारिताकै मुख्य धारमा क्रियाशील क्षमतावान पत्रकार हुन् । संकटका बेला सातै प्रदेशका सचिवले राजधानी गएर पार्टीलाई सहयोग पुग्ने गरी काम गर्ने अवस्था छैन । राजधानीमै रहेका सचिव हरिबोल विज्ञप्तिमा हस्ताक्षर गर्नसक्ने पदाधिकारीका रूपमा चौतारीभित्रै चिनिएका छन् । बागमती प्रदेशका सचिव विष्णु तारुके विज्ञापन उठाउने, बैंकहरूसँग डिल गर्ने, नेताहरूलाई ऊर्जा भर्ने, राजनीतिक हिसाबले तारकेश्वर नगरपालिकामा बागी मेयरको उम्मेदवार हुने हैसियतका पत्रकार हुन् । कोषाध्यक्ष इन्द्र आचार्य पनि खासै सक्रिय नभएको टिप्पणी हुन थालेको छ ।
कांग्रेसनिकट प्रेस युनियनको तुलनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)विरुद्ध वैचारिक रूपले चारैतिरबाट प्रहार भइरहेका बेला एउटा गतिलो सामथ्र्यवान समूह निर्माण गरी जाइलाग्न सक्ने क्षमतायुक्त पत्रकारहरुको अभाव देखिन्छ । मुख्यधारका पत्रपत्रिका, टेलिभिजन तथा अनलाइनहरूमा एमालेको विचारलाई प्राथमिकताका साथ बढाउने पत्रकारहरू प्रेस चौतारीमा कमै देखिएका छन् ।
कतिपयले चौतारीको यी पद सम्हालेको महिना दिन नपुग्दै गाउँपालिका अध्यक्षको दावेदारका रूपमा समाचार लेखाउँदै हिँडेका थिए । पत्रकार महासंघको चुनाव आउँदा म पत्रकार भन्ने, वन उपभोक्ता महासंघको चुनाव आउँदा वनविज्ञ, उद्योग वाणिज्य संघको चुनाव हुँदा व्यापारी र उद्यमी भनेर आपूmलाई मैदानमा खडा गर्नेहरू पनि चौतारीमा देखिन्छन् ।
मुख्य धारमा रहेर जीविकोपार्जन गर्नेहरूलाई चाकरी, चाप्लुसी गर्न नजान्ने भन्दै पोखरा महाधिवेशनबाट अलग पारिएको थियो । मुख्यधारमा बसेर पत्रकारिता गर्ने र परिआएको बेला संगठन र पार्टीका पक्षमा मजबुतीका साथै डट्ने ल्याकत भएका धेरै जना चौतारीको पोखरा भेलाबाट निरास भएर फर्किएका थिए । उनीहरूलाई चौतारीले कुनै पनि महत्वपूर्ण जिम्मेवारी दिएन । १५२ जनाको जम्बो समितिमा नअट्ने तर सधैं चौतारी चौतारी भनिरहने अमृत बास्कुने, मोहन बाँस्तोला, प्रकाश सिलवाल, रामेश्वर कार्की हुन् ।
चौतारीका तुलनामा कांग्रेससमर्थित नेपाल प्रेस युनियनमा सक्रिय र व्यावसायिक पत्रकारको पहुँच देखिन्छ । अहिलेका अध्यक्ष शिव लम्साल पत्रकारितामै क्रियाशील छन्, उनका प्रतिस्पर्धी अनिता विन्दु पनि नेपाल टेलिभिजनमा सक्रिय छिन् । महासचिव दिलिप पौडेल नागरिक दैनिकमा लेख्छन् भने उपमहासचिव दिलिपाश्री अधिकारी, सलोजा दाहाल दुवै जना उत्तिकै जाँगरिला छन् ।
त्यसैगरी सचिव खगेन्द्र भण्डारी अनलाइन खबर र अछामकी मेनुका ढुंगाना कान्तिपुर दैनिकमा लेख्छन् । यिनीहरू क्रियाशील पत्रकारहरूकै सूचीमा पर्छन् र परिआएको बखत पार्टीको समर्थनमा समाचार लेख्न पछि हट्दैनन् ।
टिप्पणीहरू