माधव नेपाल नेतृत्वको पार्टी कहिल्यै कमजोर नहुने मन्त्री चौधरीको ठहर
सहरी विकासमन्त्री मेटमणि चौधरीले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताउनुभएको छ । धादिङको गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अध्यक्ष नेपालले लाखौँ कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएकाले उहाँले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर नहुने दाबी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल । त्यसकारण तपाईंहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैन ।’
पार्टी विद्रोहको औचित्य पुष्टि गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘हामीहरुले नयाँ पार्टी निर्माण किन गर्नुपर्यो भन्ने मुख्य कुरा हो । हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो । त्यत्रो ठूलो पार्टी बनाएर पनि हुँदो रहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो ।’
कम्युनिष्टहरु तानाशाही हुन्छन्, संवैधानिक सर्वोच्चता मान्दैनन् भन्ने कुरा स्थापित हुने भएकाले कम्युनिष्ट पार्टी र आन्दोलनलाई नै पुनर्गठन गर्नुपर्ने आवश्यकता परेर संविधानसमेत जोगाइएको उहाँको भनाइ थियो । हिजो आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेबाट गरिएको विद्रोह माक्र्सवादी दर्शनशास्त्रीय कोणबाट समेत जायज रहेको ठोकुवा गर्नुभयो ।
टिप्पणीहरू