कोशीमा आङबो आक्रोशित

कोशीमा आङबो आक्रोशित

कोशी प्रदेश सरकारले संसद छल्न खोजेको आरोप लगाउँदै मुख्य विपक्षी दल तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा हाल नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वमन्त्री आङबो आक्रोशित भएका छन्। सरकारले प्रतिबद्धता जनाए पनि प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन आलटाल गरिरहेको उनको आरोप छ।

नेता आङबोले कुनै पनि बहाना नबनाई हाल उपलब्ध भौतिक अवस्थामै प्रदेश सभाको बैठक सञ्चालन गर्नुपर्ने माग गरेका छन्। उनले जेजस्तो संरचना उपलब्ध छ, त्यसैलाई प्रयोग गरेर तत्काल हिउँदे अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह गरे।

कोशी प्रदेश सभामा संसदीय दल एकीकरण भइनसके पनि आङ्बो माओवादी केन्द्र र एकीकृत समाजवादी दुवैका विपक्षी नेता हुन्। उनले जेनजी आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि सरकारले संसद बैठक बोलाउन नचाहेको र विभिन्न बहाना बनाउँदै संसद छलिरहेको आरोप लगाए।

जेनजी आन्दोलनपछि विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा सचिवालय र संसद भवन आगजनी भई ध्वस्त भएपछि कटहरी गाउँपालिका–१, जमटोकीस्थित कृषि थोक बजारमा प्रदेश सभा सचिवालय स्थापना गरिएको थियो। तर सचिवालय सरेको डेढ महिना बितिसक्दा पनि सरकारले संसद बैठक सञ्चालनका लागि आवश्यक कक्ष स्तरोन्नति गर्न चासो नदेखाएको आङबोको भनाइ छ।

उनका अनुसार भौतिक मन्त्रालयले अहिले ठेक्का प्रक्रिया सुरु गरे पनि निर्माण सम्पन्न हुन कम्तीमा दुई महिना लाग्ने भएकाले फागुनको अन्तिमभन्दा अगाडि संसद सुरु हुन नसक्ने अवस्था देखिएको छ। त्यसैले निर्माणको बहाना नबनाई तत्काल उपलब्ध संरचनाको उपयोग गर्दै हिउँदे अधिवेशन सुरु गर्नुपर्ने माग अगाडि सारिएको छ।

कोशी प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको सरकारमा मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्की छन् । यसअघि कार्की नेतृत्वको सरकारले मंसिर दोस्रो सातासम्म जसरी पनि प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउने सार्वजनिक प्रतिबद्धता जनाएको थियो। तर पछिल्लो समय भौतिक संरचना निर्माणको बहाना बनाउँदै संसद छलिरहेको विपक्षी दलहरूले आरोप लगाएका छन् ।

सद बैठक बोलाउन सत्तापक्षकै सांसद र विषयगत समितिहरूले समेत सरकारलाई आग्रह गरिसकेका छन्। संसद नहुँदा जेनजी विध्वंशपछि प्रदेशबासीका आवाज कुण्ठित भएको गुनासो दलहरू र सांसदहरूले गर्दै आएका छन्। तर सरकारले एमाले महाधिवेशन, काँग्रेस महाधिवेशन र यदाकदा सरकार पुनर्गठनको बहानमा संसद छलिरहेको विपक्षीको आरोप छ।

टिप्पणीहरू