कालापानी जोड्ने सडकमा किन पैसा काटियो ?

कालापानी जोड्ने सडकमा किन पैसा काटियो ?

शेरबहादुर देउवा नेतृत्वको सरकारले दार्चुला–टिंकर सडकमा ६२ प्रतिशत बजेट कटौती गरेको छ । व्यास गाउँपालिका–३ तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइए पनि सरकारले ठूलो बजेट कटौती गरेको हो ।

०७९/८० मा सेनाको विकास निर्माण निर्देशनालयले यो सडक निर्माणका लागि २५ करोड बजेट माग गरेकोमा सरकारले ९ करोड ५० लाख रुपैयाँ मात्रै छुट्याएको छ । यो ६२ प्रतिशत न्यून बजेट हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले ०७९/८० मा १४ करोड ५० लाख बजेट विनियोजन भएको लिखित जानकारी दिएको थियो । तर, पछिल्लो समय उक्त बजेटबाट पनि थप ५ करोड रुपैयाँ घटाइएको छ । राष्ट्रिय योजना आयोगको वार्षिक विकास कार्यक्रम फारम नम्बर १ मा टिंकर सडकका लागि चालु वर्षमा ९ करोड ५० लाख ३० हजार रुपैयाँ मात्रै बजेट विनियोजन भएको उल्लेख छ ।

त्रिदेशीय सीमाक्षेत्रमा निर्माण गरिने टिंकर सडकलाई प्राथमिकता दिनुपर्नेमा सरकारले कामै ठप्प हुने गरी बजेट कटौती गरेको बताइन्छ जबकि अतिक्रमित नेपाली भूमि नजिकको क्षेत्र भएर चीनको सीमासम्म सडक निर्माण गर्ने लक्ष्य राखिएको छ ।

सरकारले ०७७ वैशाख १४ गते सेनालाई टिंकर सडक निर्माणको जिम्मेवारी दिने निर्णय गरेको हो । सोहीअनुसार सेनाले झण्डै एक वर्ष लगाएर हो डिपिआर संशोधन गरेको छ । व्यास गाउँपालिका–४ सुन्सेरा र वडा नम्बर २ दुम्लिङमा क्याम्प स्थापना गरी उसले सडक निर्माण गरिरहेको छ ।

०७८÷७९ मा व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्म करिब ८ किमि सडक निर्माण गरिएको सेनाले जनाएको छ । गत वर्ष टिंकर सडक निर्माणका लागि १५ करोड ८० लाख दिइएको थियो । अघिल्लो वर्ष ७ करोड ५० लाख बजेट दिइएकोमा सेनाले ६ करोड ८० लाख खर्च गरेको थियो । सुरुवाती वर्ष रहेकाले क्याम्प स्थापना र उपकरण खरिदमा मात्रै पहिलो वर्षको बजेट खर्च भयो । सडक निर्माण भने आर्थिक वर्ष २०७८/७९ देखि बल्ल शुरु भएको हो ।

‘टिंकर सडक निर्माणमा यति थोरै बजेट राखिएबाट सरकारले सडक निर्माण गर्न नचाहेको देखिन्छ’ व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भन्नुभयो, ‘जेठ महिनामै छाङरुमा क्याम्प स्थापना गरेर सडक निर्माण थालिने खवर थियो तर नयाँ बजेटले टिंकर सडकलाई प्राथमिकता नै दिएन ।’ वडाध्यक्ष बोहराका अनुसार क्याम्प स्थापनामा पनि कुनै प्रगति छैन ।

टिंकर सडकमा न्यून बजेट राखिएको र सडक निर्माण सुस्त भएकोबारे असार २७ गते सदरमुकाम खलंगामा व्यास गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम राखेको थियो । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको उपस्थितिमा भएको कार्यक्रमले टिंकर सडकमा पर्याप्त बजेट विनियोजन गराउन र सडक निर्माणलाई दु्रतगति दिन पहल गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।

साउन तेस्रो साता देउवा सरकारका उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले गृहजिल्ला पुगेर टिंकर सडक निर्माणमा बजेटको अभाव नहुने बताए । तर, सेनाले माग गरेबमोजिम बजेट नदिएको विषयमा भने अनुत्तरित रहे । पूर्वमन्त्री ठगुन्नाले पनि टिंकर सडक निर्माणमा पर्याप्त बजेट छुट्याउन कुनै पहल गर्न सकेका छैनन् ।

टिंकर सडक निर्माण व्यास गाउँपालिका र दार्चुला जिल्लाको मात्रै प्राथमिकताको विषय नभएको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामी बताउँछन् । ‘यो कैलाश मानसरोवर जोड्ने मार्ग हो र सुदूरपश्चिमकै सर्वाधिक महत्वको सडक हो’, उनको भनाई छ ।

‘हामी चुपचाप बस्दैनौं, हाम्रो आवाज नसुन्नेहरूलाई आँखा, कान र नाकै ठोक्किने गरी बोल्छौं’ अध्यक्ष धामीले भने, ‘जस्तोसुकै संघर्ष गर्नुपरे पनि तयार छाैँ  तर टिंकर सडक निर्माणको विषय त्यत्तिकै छाडिँदैन ।’

टिप्पणीहरू