नक्सा पास गर्न काठमाडौं महानगरको ९० दिने सूचना
काठमाडौँ महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न पुनः अनुरोध गरेको छ । महानगरले नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
महानगरको सहरी व्यवस्थापन विभागले सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न पुनः सूचना जारी गरेको छ ।
नक्सा पास नगरी बनेका त्यस्ता संरचना ९० दिनभित्र प्रक्रिया पूरा नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
त्यस्तै नक्सा बिना र मापदण्ड विपरीत बनाइएका अवैध सीमा तथा पर्खाल ३५ दिनभित्र भत्काउन पनि आग्रह गरेको छ । घरजग्गा घेर्न निर्माण गरिने यस्ता संरचनाको पनि नक्सा पास हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ ।
‘त्यस्ता अवैध पर्खाल स्वयम् व्यक्ति वा घरधनीले नभत्काइए महानगरले भत्काइदिनेछ,’ महानगर स्रोतले भनेको छ ।


टिप्पणीहरू