नेपाली जनता समाजवादी लोकतन्त्रको अभियानमा : झलनाथ खनाल

नेपाली जनता समाजवादी लोकतन्त्रको अभियानमा : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको युवा जागरण अभियान नेपाली जनताको अभियान भएको बताउनुभएको छ । उहाँले अब नेपाली जनता समाजवादी लोकतन्त्रतर्फ अगाडि बढ्न चाहेको पनि उल्लेख गर्नुभएको छ ।

एकीकृत समाजवादी पार्टीको युवा संघ नेपालले आयोजना गरेको महाकाली मेची युवा जागरणको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण, दमन निर्मूल गर्ने दिशातर्फ केन्द्रित हुनुपर्ने र त्यसको नेतृत्व समाजवादी लोकतन्त्रले मात्र गर्ने दाबी गर्नुभएको छ ।

युवा संघ नेपालले भदौ १५ गते सुरु गरेको अभियान हिजो समापन भएको छ । हिजो बिर्तामोडमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले अभियानले एकीकृत समाजवादी एउटा वैकल्पिक शक्ति भएको सन्देश दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अझै पनि सीमाको यकिन तथ्याङ्क छैन । लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितका हाम्रा भूमिको रक्षा गर्ने दायित्व हाम्रै काँधमा छ ।’

कार्यक्रममा पार्टी उपाध्यक्ष जयन्ती राई, उपमहासचिव विजय पौड्याल, पोलिटब्युरो सदस्य तथा युवा इञ्चार्ज दिलु पन्त, युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले पनि धारणा राख्नुभएको थियो । पार्टी झापा जिल्ला कमिटीको तर्फबाट अध्यक्ष वेदराज रेग्मीले युवा संघ नेपाललाई सम्मान गर्दै सहभागी सबैलाई हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

टिप्पणीहरू