दलका दुःख कति हो कति !

दलका दुःख कति हो कति !

वस्तुस्थिति र तथ्यपूर्ण विश्लेषण नगरी प्वाक्क बोल्ने प्रचण्डको बानी † ‘नाइँ’ भन्न नसक्ने, ‘गरिहालौँ’ भन्न पनि अप्ठेरोमा पर्ने शेरबहादुर देउवा !

सीटको भागबण्डा लगाउने विषयमा केन्द्रित छलफलका क्रममा पाँचदलीय गठबन्धनभित्र देखिएका मुख्य दुई समस्या हुन् यी । कांग्रेसभित्रै शुरुमा सय सीटबाट नघट्ने दबाब थियो । त्यस्तो कुरा ल्याउँदा बाँकी चार दल टसमस हुन नसक्ने स्थितिमा पुगे । यसपछि कांग्रेस घटेर ९० मा झर्यो । बजारमा हल्ला चलेअनुसार ऊ ८० सम्म झरेको छ । तर, प्रचण्डले ‘८२–८२ गरौँ’ भनेर प्वाक्क बोलिदिँदा कुरा बिग्रिएको एक नेताले बताए । नेपाली कांग्रेस एक्लै ८२ र बाँकी चार दललाई ८२ सीटभित्र समेट्ने प्रचण्डको कुराले गलिसकेको कांग्रेसलाई फेरि आशावादी बनाउँदा केही दिनअघि नै टुंगिने क्रममा रहेको सीट भागबण्डा लम्बिएको बैठकमा सहभागी एक नेताले बताएका छन् । प्रचण्डले त्यसरी बाहिर बोलेपछि माधव नेपालले भन्नुभयो, ‘कांग्रेस ७०–७५ तिर गए हुँदैन ? किन ८०–८५ भन्नुहुन्छ ? पाएजति त तपाईंहरुले जितिहाल्नु हुन्छ !’ यसपछि सहमतिको बाटोले केही लय पक्डिएको छ । माधवको कुरा सुनेपछि शेरबहादुर देउवाले रामचन्द्र, शेखर, सिटौला मिलाउने कुरामा अप्ठेरो मान्नुभयो । यद्यपि, यसैमा पनि पार्टीभित्र कुरा मिलाउन पहल गर्छु भन्ने शेरबहादुरको आश्वासन छ । यदि माधवले भनेजस्तो समाधानमा जाने हो भने कांग्रेसभन्दा वामपन्थी तल परेको भन्ने स्थिति नहुन पनि सक्छ ।

नेपाली कांग्रेसभित्र गठबन्धनलाई कायम राखेर जान मनोवैज्ञानिक दबाब छ । यसको कारक एमाले हो । किनभने, सीट भागबण्डाका प्रत्येक छलफलमा माओवादी र समाजवादीहरुले ‘नो थिङ्ग इज इम्पोसिबल’ भनेर तर्साइरहेका छन् । देउवालाई ‘आइरन कट्स आइरन’ भन्ने मान्यताअनुसार एमालेसँग लड्न वामपन्थीसँगै मिलेर अघि बढेको छु भन्ने ठाउँ प्रशस्त छ । एमाले त कोही नपाएर राप्रपा, हृदयेश त्रिपाठीहरुसँग मिल्न तयार भएको छ । यो स्थितिमा वामपन्थीहरुसँगै मिल्ने अवस्था भयो भने केपी ओली पछाडि हट्ने अवस्था छैन । एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीको दलीय अस्तित्व स्वीकार गर्दा मिल्न सकिन्छ भने किन नमिल्ने भनेर अहिले शंकर पोखरेलहरुले ओलीलाई सुझाव दिइरहेका छन् ।

कांग्रेसमा शेखर र देउवाको आफ्नै गतिविधिले समस्या पारिरहेको छ । सत्तासुखलाई संस्थागत गर्ने अवसर पाउनका लागि पाँचदलीय गठबन्धन राम्रो अवसर हो । कांग्रेसभित्र देखिएका र नदेखिएका पात्रहरु सत्तामा हावी हुने कुराको सुनिश्चितता हुनुपर्छ भन्दैछन् । पहिला–पहिलाजस्तो कांग्रेसले सत्ता पाइसकेपछि सबैलाई मिलाउनुपर्ने होइन । देउवापत्नी डा.आरजू, साला भुषण राणा, छोरा जयवीरहरु अहिल्यै पनि हावी छन् ।

चुनावी यात्रामा वामपन्थीहरुबाट करिव–करिव एक्लिएको एमालेका निम्ति अबको १० दिनभित्र कुनै आश्चर्यजनक घटना भएन भने ऊ व्यहोर्नुपर्ने क्षतिका निम्ति तयार भएर जानुको विकल्प हुँदैन । त्यसैले उसका केही नेता भयभित र आतंकित छन् । किनभने, समाजवादीका कारण सय मत काटिँदा पनि एमालेलाई धेरै संख्यामा क्षति पुग्छ । हिजो एमालेमा रहँदा भोगेका प्रताडनापछि कुनै आशा नराखेर अलग्गिएका डेढ लाख संगठित सदस्य आज ऊसँग छैनन् । उनीहरु ‘पोटासियम साइनाइड’ खाएका लिट्टेझैँ हुन्छन् । एमालेहरुमा पनि हिजो तिनीमाथि गर्नुसम्म अचाक्ली गरेका कारण मिल्न सकिन्छ भन्ने आत्मविश्वास छैन । ०५६ मा मालेका कारण एमालेलाई ४२ सीटमा क्षति पुगेको थियो । त्यसो गर्दा पनि एमालेले जितेको सीट संख्या ६९ हो । उदाहरणका लागि धादिङमा एमालेका गंगालाल तुलाधरको साढे २५ हजार मत आयो । मालेका भरत अधिकारीले हजार भोट पाए । पाँच सयको हाराहारीमा गंगालालले हारे । यस्तो अन्तरमा त्यसबेला ४२ जनाले हारेका थिए । यसचोटि विभाजनको धाँजा अलिक बाक्लैसँग फाटेको छ । विगतमा हजार–१५ सय मतले जित–हार भएका क्षेत्रमा यसचोटि एमालेलाई समस्या पर्ने देखिन्छ ।

उता, सत्तारुढ गठबन्धनभित्र दलीय भागबण्डाको कुरा हुँदा जनमोर्चाले दुई सीटलाई बटम लाइन बनाए पनि अन्तिमसम्म उसले एउटामा चित्त बुझाउने स्थिति छ । अधिकतम् प्युठान, न्युनतम बाग्लुङ उसको रोजाई हो । माओवादीले वामदेवलाई चुनाव चिह्न दिन नसक्ने कुराले बुझ्न सकिन्छ, मोहनविक्रम सिंहले प्युठानबाट पत्नी दुर्गालाई नै फेरि अगाडि सार्दै हुनुहुन्छ ।

टिप्पणीहरू