‘१० भाइ समूह’का अर्का नेता पनि जिउँदो शहीद

‘१० भाइ समूह’का अर्का नेता पनि जिउँदो शहीद

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरेका र पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका एमालेका ‘१० बुँदे’ पक्षधर नेताहरु क्रमश: किनारामा पर्दै गएका छन् । अध्यक्ष केपी ओलीको विरोध गरेको भन्दै पार्टीको सांगठनिक राजनीतिमा चेपुवामा पारिएका उनीहरु चुनावको टिकट वितरणसम्म आइपुग्दा थप कर्नरमा परेका हुन् ।

१० बुँदे पक्षधरमध्ये पनि अध्यक्ष ओलीले नरुचाएका पात्रहरुलाई छानीछानी टिकटबाट बन्चित गरिएको गुनासो सार्वजनिक भएको छ । योगेश भट्टराई,सुरेन्द्र पाण्डे,भीम आचार्य, गोकर्ण विष्टलगायत टिकट पाउनेहरुले पनि अध्यक्षलाई खुशी तुल्याएर मात्रै सो उपलब्धि हासिल गरेको दावी धेरैको छ ।

जिल्लाबाट सर्वसम्मत सिफारिस हुँदाहुँदै पनि पूर्वउपाध्यक्ष भीम रावलको टिकट खोसिएको छ भने बैचारिक नेताका रुपमा चर्चित घनश्याम भुसालको ठाउँमा एमालेले राप्रपालाई समर्थन गरेको छ । रावल र भुसाल तत्कालीन माधव समूहका प्रखर र प्रभावशाली नेता हुन् । एमालेको गत महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने आफ्नो योजनामा असहयोग गरेका कारण यी दुईप्रति ओली बढी पूर्वाग्रही भएको र त्यसैकारण अहिले टिकटबाट बन्चित गरिएको तल्लो तहका कार्यकर्ताहरुको गुनासो छ ।

रावल र भुसाल मात्र होइन काठमाडौँ उपत्यकामा वामपन्थी आन्दोलन जगाउन महत्वपूर्ण भूमिका खेलेका सुरेन्द्र मानन्धर, युवा पुस्ताका लोकप्रिय नेता डा.दिपकप्रकाश भट्टलगायत पनि ओलीको रोजाइमा परेनन् । कोमल वली, शान्ता चौधरीले टिकट पाउँदा सिङ्गै जीवन एमालेमा बिताएकाहरुलाई विगतमा प्रतिनिधिसभा विघटनको विरोध गरेकै कारण अहिले मौका छोपेर अवसरबाट बन्चित गरिएपछि एमालेमा असन्तुष्टी बढेको हो ।

काठमाडौँ-१० बाट एमालेले सुरेन्द्र मानन्धरको नाम सिफारिस गरेर पठाएको थियो । तर, अध्यक्ष ओलीले नरुचाएका कारण उनलाई रोक्न त्यहाँ पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई अघि सार्न खोजिएकोमा उनी आफैँ पछि हटेपछि अर्का प्रवेशीलाई खडा गरिएको छ ।

पार्टीले टिकट खोसेपछि सुरेन्द्रले मूल्य,मान्यता र आदर्शको राजनीतिबाट बिचलित नहुने भन्दै भावुक स्ट्याटस लेखेका छन् । ‘लाखौँ बार लखेटिन परोस्,सयौँ मृत्यु मर्न परोस्, तर अहँ राष्ट्रलाई धोका दिन्न। हजारौँ शहीदको बलिदान र आफ्नैसमेत रगत, पसिनाबाट स्थापित संविधान र व्यवस्थाको संरक्षण गर्न सदा पहाडझैँ अटल रहिरहनेछु । लडिरहन चाहे आफ्नैसँग किन नपरोस्’, आज अपरान्ह उनले फेसबुकमा लेखेका छन् ।

०७० सालमा कांग्रेसका राजन केसीसँग प्रतिष्पर्धा गरेका मानन्धरलाई टिकट नदिएर त्यतिबेला बल्ल पार्टी प्रवेश गरेका हिमेष केसी आज ओलीको रोजाइमा परेको भन्दै कीर्तिपुरका एमालेहरु नेतृत्वप्रति रुष्ट भएका छन् । एमालेको टिकट पाएका हिमेश र काँग्रेसका राजनबीच मामा-भान्जाको नाता रहेको चर्चा छ ।

टिप्पणीहरू