किन पारे लमजुङका कमरेडले अमिलो मन ?
-अञ्जनकुमार हिमाली
लमजुङमा धेरैले रुचाएका नेतामा गनिन्छन् जमिन्द्रमान घले अर्थात् जेएम । २०४९ सालमा भुलभुले गाउँपालिकाको अध्यक्ष हुँदा, २०५४ मा जिविस सभापति वा २०७० मा संविधान सभाको माननीय हुँदा पनि जनतासँगको सामीप्यताले उनीप्रतिको जनमोह कहिल्यै खस्किएन ।
उनै घलेलाई गठबन्धनका हेभीवेट नेता माओवादी केन्द्रका महासचिव देव गुरुङसँग भिडाउन खोजिएको थियो । घलेको चाहना संघीय निर्वाचनमै उठ्ने थियोे । उनी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाका बखत नै लमजुङ (ख) केन्द्रित थिए । उनको जति पनि लमजुङमा गरिएको राजनीतिक लगानी थियो ती सबै त्यतै थियोे ।
चुनावको मिति घोषणासँगै आफ्नै क्षेत्र केन्द्रित भएर गतिविधि सञ्चालन गरेका उपमहासचिव गुरुङलाई लमजुङ (ख) मा चुनाव जित्न जति सहज थियो संघमा फलामको चिउरा साबित हुनेजस्तै देखिन्छ । यता संघीय सांसदको सिफारिसमा परेका र त्यहीअनुसार मनस्थिति बनाएका जमिन्द्रमान घलेलाई प्रदेशमा झारिएपछि मन अमिलो मात्रै पारेनन् निर्वाचनमै भाग नलिने अडानमा बसे ।
त्यसैले अस्तिको मनोनयन दर्ताको बेला पनि केन्द्रीय सदस्यसमेत रहेका घलेको मुहारमा कुनै चमक थिएन । निन्याउरो मुहारमा मनोनयन दर्ता गर्न पुगेका उनी पुनः २०७० को निर्वाचनका प्रतिद्वन्द्वी टकराज गुरुङसँगै प्रदेशमा भिड्ने भएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा एमालेका घलेले काँग्रेसका टकराज गुरुङलाई ८९८ मतान्तरले हराएका थिए । नौ वर्षपछिको भिडन्तमा पनि घलेले नै बाजी मार्न सक्ने धेरैले अड्कल लगाएका छन् ।
लमजुङमा एक जना प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र र विभिन्न दलका गरी १३ जनाले मनोनयन दर्ता गरेका छन् । नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति र रवि लामिछानेको स्वतन्त्र पार्टीबाट धर्मराज केसीले च्याँखे थापेका छन् । एमाले र पाँच दलीय सत्ता गठबन्धनबाहेक राप्रपाका बालचन्द्र श्रेष्ठको समेत शर्मनाक पराजय हुने स्थानीयको बुझाइ छ ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिवबीचको प्रतिस्पर्धा निकै रोचक हुने प्रष्टै छ । लमजुङका लागि टुरिष्ट उम्मेदवारको उपमा पाए पनि २०४८ सालमा रातो राहदानी काण्डमा मुछिएका काँग्रेसका रामचन्द्र अधिकारीद्वारा १० हजार मतले पराजित देव गुरुङले २०७४ निर्वाचनमा एमालेको बलमा काँग्रेसका दिलबहादुर घर्तीलाई ८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
अहिले तिनै घर्तीका पार्टीको बलमा जम्माजम्मी ५ हजार मत लिएर निर्वाचनमा होमिएका गुरुङलाई काँग्रेसी मतदाताले बेइमान नगरे देवको जित टाढा छैन भन्न थालिएको छ । २०७४ को समानुपातिक मतलाई आधार मान्ने हो भने पनि नेपाली काँग्रेसको २७ हजार २२९, नेकपा एमालेको ३३ हजार ३०९ र माओवादी केन्द्रको ७ हजार ८०५ छ ।
गत स्थानीय निर्वाचनको कूल मतमा एमाले थोरै मतले अघि छ । पछिल्लो समय काँग्रेस र माओवादीका थुप्रै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । सुन्दरबजार नगरपालिकामा उपमेयरका प्रत्याशी द्वारिका मिश्र झण्डै पाँच सय हाराहारी कार्यकर्ता बोकेर तीन महिनाअघि एमाले छिरेका थिए ।
चुनावको मुखैमा आएर सुन्दरबजारकै काँग्रेसका चर्चित नेता ततबहादुर गुरुङ राप्रपा छिरेर प्रदेश सदस्यको उम्मेदवार र अर्का नेता डाक्टर लक्ष्मीकान्त पौडेल विपी काँग्रेसको उम्मेदवार बनेपछि लमजुङमा काँग्रेसलाई ठूलो झड्का लागेको छ ।
माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकाल,पत्रकार महासंघको केन्द्रीय सदस्य समेत भइसकेका नवीन कुँइकेलहरु, बेंसिसहर नपा–३ का वडा अध्यक्ष सूर्यमान श्रेष्ठसहित सयौंको संख्यामा र मर्स्याङ्दी गाउँपालिका घनपोखराका कृष्ण विकसहित माओवादीका दलितले एमाले रोजेका छन् ।
एमालेबाट विभाजित एकीकृत समाजवादीको लमजुङमा खासै प्रभाव देखिँदैन । त्यसैले सत्ता गठबन्धनले सोचेजस्तो जीत निकाल्न सहज पनि छैन । अर्कोतर्फ गुरुङविरुद्ध गुरुङ र खस आर्यविरुद्ध खस नै अर्थात् प्रदेश (ख) एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी भर्सेस काँग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल मैदानमा उत्रिएका छन् ।
टिप्पणीहरू