दशैँ मनाउन गएकाहरु उतै बस्दा सिंहदरवार सुनसान
दशैँ मनाउन गएका मन्त्री,नेता र कर्मचारीहरु नफर्किदा सिंहदरवार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा भने अझै चहलपहल छैन ।
अस्ति कोजाग्रत पूर्णिमा सकिएसँगै दशैँ औंपचारिक रुपमा समापन भएपनि बिदामा गएका कर्मचारीहरु फर्किसकेका छैनन् । नेता र मन्त्रीहरु निर्वाचनका निम्ति गृह जिल्ला जाने क्रम बढेसँगै मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण र कर्मचारीलगायतको भीड कम भएकाले पनि सिंहदरवार सुनसान बनेको हो ।
हाल मन्त्रालयमा सीमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । पछिल्लो केही दिनयता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि नेता तथा मन्त्रीहरु विभिन्न जिल्लामा पुगिरहेका छन् ।
वर्षाका कारण सडकहरु भत्किँदा राजधानी फर्किनेहरु सहजै, समयमै आइपुग्न सकिरहेका छैनन् । यसले पनि सिंहदरवार जानेहरुको संख्या घटाएको छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्युन मात्रामा देखिएकाे थियाे ।
टिप्पणीहरू