काँग्रेसका चर्चित बागी सबैलाई माछा
आगामी संसदीय निर्वाचनमा उम्मेदवार बनेका सबैलाई हिजो चुनाव चिन्ह प्रदान गरिएको छ । प्रमुख राजनीतिक दलका उम्मेदवारले आफै दलको चिन्ह पाएका छन् भने स्वतन्त्र उम्मेदवारलाई सिलसिलेवार ढंगले चिन्ह प्रदान गरिएको छ ।
तर, नेपाली काँग्रेसको उम्मेदवार हुनबाट वञ्चित भएका र कर्नरमा पारिएका केही उम्मेदवारको चुनाव चिन्ह भने एउटै पाइएको छ । काँग्रेसका चर्चित बागीहरुले माछा रोजेका छन् ।
भारतीय जनता पार्टीका नेताहरुसँग राम्रै उठबस भएका भनिएका अमरेशकुमार सिंहले हिजो माछा चुनाव चिन्ह पाए । उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यहाँ नागेन्द्रकुमार राय काँग्रेसको रुख चिन्हबाट उठेका छन् ।
उता कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उठेका काँग्रेसका पुष्करनाथ ओझाले पनि माछा चिन्ह पाएका छन् । त्यहाँ काँग्रेसको रुख चिन्ह लिएर डिल्लीराज पन्थ उठेका छन् ।
यता चितवनमा पनि नेपाली काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई माछा चिन्ह प्राप्त भएको छ । उनले क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हुन् । त्यहाँ सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका भोजराज अधिकारी उठेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको उक्त क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर माछा चिन्ह लिएका कोइरालालाई समर्थन गरेको छ ।
टिप्पणीहरू