बेलायत बस्ने नेपाली फुटको संघारमा

बेलायत बस्ने नेपाली फुटको संघारमा

अन्ततः एनआरएनए युके टुक्रिने अवस्थामा आइपुगेको छ । अध्यक्ष प्रेम गाहामगरलाई केन्द्रले बर्खास्त गरेको पत्र थमाएपछि एक समूह आगामी १८ अक्टोबरमा विशेष साधारणसभाको तयारीमा छ भने गाहामगर समूहले त्यो अगाडि १६ अक्टोबरमै आपतकालीन अधिवेशन बोलाएको छ । ९ अक्टोबरको आकस्मिक बैठकले ११ हजार ३ सय ६३ बेलायतवासी पञ्जीकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष भएकाले प्रेम गाहामगरलाई आइसीसी वा जो कोहीले बर्खास्त गर्न नसक्ने ठहर गर्दै संस्थालाई बचाउन र विधि विधानअनुसार अघि बढ्न जनताको म्यान्डेट बमोजिम १८ अक्टोबरमा हुने कथित अधिवेशनमा संलग्न २३ जना सदस्यलाई कारवाही गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले अध्यक्षलाई विधानविपरीत बर्खास्त गरेर एनआरएनए युकेलाई तहसनहस बनाउन खोजेकामा कडा भत्र्सना गर्दै अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको संस्थाबाहेक अर्को संस्था बनाए कसैलाई पनि मान्य नहुने निश्कर्ष निकालेको छ । उता, युवाहरु एनआरएनए युके टुक्य्राए कडा प्रतिकार गर्ने चेतावनीसहित मुठभेडको मनस्थितिमा उत्रिएका छन् । नेपलिज युथ युकेले एनआरएनए युकेको नाममा आगामी १८ अक्टोबरमा गर्ने भनिएको विशेष साधारणसभाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष धिरज राई र महासचिव खगेन थापामगरले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘असंवैधानिक’ र ‘औचित्यहीन’ भेला बहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई अपिल पनि गरेका छन् ।

‘वैधानिक रुपमा जननिर्वाचित अध्यक्ष प्रेम गाहामगर भएको सर्वविदितै छ । उहाँको कार्यकाल अझै ११ महिना बाँकी रहँदा अध्यक्षलाई नै बाइपास गरी केही समूहले विशेष साधारणसभा गर्न लागेकोप्रति हाम्रो कडा आपत्ति छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता असंवैधानिक र औचित्यहीन भेला वहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई हामी यसै विज्ञप्तिमार्फत अपिल गर्दछौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘गएको ११ औं साधारणसभा तथा संघसंस्था प्रतिनिधि सभाले बर्खास्त गरेका पूर्व महासचिव खुशी लिम्बू र आर्थिक घोटाला आरोपित छानविन समितिको प्रक्रियामा रहेका उपाध्यक्ष सुनिलबाबु खड्काद्वारा संप्रेषित इमेल अवैधानिक र भ्रामक रहेकोले यो समाचारलाई वास्ता नगर्न अनुरोध गर्दछौं ।’ सामाजिक एकता र सद्भाव बिथोल्ने त्यो समूहलाई नंग्याउंदै आफ्नो आवाज बुलन्द गर्न सबै युवाहरुमा अपिल पनि गरिएको छ । ‘परिवर्तन युवाबाट सम्भव छ, हामी गर्छौं न कि कुनै स्वार्थी समूहबाट । उनीहरुलाई बहिष्कार गरौं, समाजमा खेल्न नदिऊँ,’ विज्ञप्तिमा छ ।

निर्वाचित अध्यक्ष र कार्यसमिति हुँदाहुँदै सामाजिक सद्भाव र आपसी एकता खल्बल्याउन उद्यत समूहको भण्डाफोर गर्दै चेतावनीसहित कथित अधिवेशन रोक्न आफ्नो तर्फबाट हरदम प्रयास रहने पनि अवगत गराइएको छ । ‘हाम्रो आग्रहलाई बेवास्ता गर्दै अधिवेशनको प्रपञ्च रचिए त्यसबाट आउने प्रतिकूल परिणामप्रति हामी जिम्मेवार नरहने पनि यसै विज्ञप्तिमार्फत जानकारी दिन चाहन्छौं’– विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अन्तर्राष्ट्रिय समन्वय परिषदलाई एनआरएनए युके अध्यक्ष गाहामगरको अनुमति बिना गत २८ जुलाईमा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स संस्थाको रकम लुटपाटको शैलीमा झिकेर पठाइएको भन्दै सो रकम फिर्ता नल्याइए कानुनी लडाईंमा अग्रमोर्चामा आउन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

साथै यही १४ देखि २० अक्टोबरसम्म नेपालमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्न बेलायतबाट जान लागेका ५४ जना युवा खेलाडीलाई अन्तिम समयमा आएर एनआरएनए आइसीसीका म्यादी अध्यक्ष कूल आचार्य, एनआरएनए स्पोर्टस एकेडेमीका संयोजक जीवन सेन एवं सदस्य सचिव धर्मराज गिरीले बिचल्ली पारेको भन्दै धेरै युवा प्रतियोगितामा जानबाट वञ्चित हुनु निकै दुर्भाग्यपूर्ण रहेको बताइएको छ ।

टिप्पणीहरू