बैंकहरु अब एलसी रोक्न बाध्य
नेपाल राष्ट्र बैंकले तत्कालका लागि बन्देज लगाइएका वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ‘ख’ वर्गका बैंक र अन्य निकायहरुलाई परिपत्र गर्दै केन्द्रीय बैंकले एलसी नखोल्न निर्देशन दिएको हो ।
सरकारले महङ्गा गाडी, मदिरा,मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेपछि राष्ट्र बैंकले पनि सोहीअनुसार गर्न भनेको हो । एकीकृत परिपत्र–२०४८ को दफा १ दशमलव १८ को अन्तिम वाक्यपश्चात व्यवस्था थप गरिएको परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकले भनेको छ,‘ नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र (खण्ड ७२ ) मिति २०७९–६–२८ (अतिरिक्ताँक ४५ ) को सूचनाबमोजिम केही वस्तुको पैठारीमा पूर्ण बन्देज लगाएकोले सोही सूचना बमोजिम गर्नु गराउनु पर्नेछ ।’
गत असोज २८ गतेको मन्त्रिपरिषद बैठकले विदेशी मदिरा,तीन सय डलरभन्दा बढीको स्मार्ट फोन, १५० सीसीमाथिका मोटरसाइकल तथा जीप, कार र भ्यानको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको थियो ।
टिप्पणीहरू