आमाहरु सौता भएपनि छोराछोरी समान : सर्वोच्च अदालत

आमाहरु सौता भएपनि छोराछोरी समान : सर्वोच्च अदालत

लामो बहस र विवाद अन्त्य गर्दै सर्वोच्च अदालतबाट सौतेनी आमाको सम्पत्तिमा अर्कीपट्टीका सन्तानको पनि हक लाग्ने छिनोफानो भएको छ । सर्वोच्चले सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति भए पनि अर्कीपट्टीका सौतेनी सन्तानको हक लाग्ने आदेश गरेको छ । 

न्यायाधीशत्रय डा.नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सुनाएको उक्त फैसलापछि सौतेनी आमाको सम्पत्तिमा सौताका सन्तानको पनि हक दाबी सुनिश्चित भएको छ । गत चैतमा सर्वोच्चले गरेको उक्त फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा त्यसबारे स्पष्ट पारिएको हो । 
   
शशी पराजुली उप्रेती तथा नवराज पराजुली पुनरावेदक रहेको अंश मुद्दामा विवादको निप्टारा गर्न व्याख्यासहित सर्वोच्चबाट पूर्ण फैसला आएको छ । अब उप्रान्त यस्तो सम्पत्तिमा सौतेनी छोराछोरीको समान हक हुने छ । बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पति छोराछोरीका लागि पैत्रिक हुने व्याख्या भएको छ । पुनरावेदक पराजुलीले आमाबाट बकसमा पाएको सम्पत्ति सौताका छोरालाई कानुन अनुसार दिनु नपर्ने दाबी सर्वोच्चसमक्ष गरेकी थिइन् ।

यसअघिको उच्च अदालतको फैसला सदर गर्दै सर्वोच्चको पूर्ण इजलासबाट अन्तिम फैसला भएको हो । जसअनुसार सौतेनीपट्टीका छोरा राहुलले शशी पराजुलीको बकसबाट प्राप्त सम्पत्तिमा पनि हक लाग्ने भएको छ । शशीले तीन तहका अदालतमा राहुललाई अंश भाग नलाग्ने जिकिरसहित मुद्दा दिएकी थिइन्। जिल्ला अदालतदेखि लामो समयसम्म चलेको यो मुद्दामा नवराज पराजुलीले त राहुल आफ्नो सन्तानै नभएको भन्ने दाबी पेश गरेका थिए । तर सर्वोच्च तहबाट ‘नाता कायम’ हुने ठहर गरिएको छ । 

न्यायाधीश सुवेदी, ढुंगाना र ढकालको पूर्ण इजलासले विमातृक सम्पत्ति सौतेनी छोराले नपाउने परिकल्पना कानुनलेसमेत नगरेको निक्र्योल गरेको छ । फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘आमाछोरा वा सौतेनी आमाछोराबीच फरक नगरेको अवस्थामा स्त्री अंशधनको महल अन्तर्गत हुने सम्पत्ति आफ्नो हाँगातर्फका छोराछोरीलाई मात्र बण्डा लाग्ने, सौतेनी छोराछोरीलाई बण्डा नलाग्नेभन्दा समान पुस्ताका अंशियारबीच बण्डा घटीबढी हुन गई सबै अंशियारको बराबर बण्डा गर्नुपर्ने अंशबण्डासम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्थासमेतको विपरीत हुने देखिन्छ।’

सर्वोच्चको व्याख्या अनुसार अंशबण्डासम्बन्धी कानुनमा आमा शब्दले सौतेनी आमासमेत र छोरा शब्दले सौतेनी छोरासमेतलाई समेटेको ठहर छ । बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने ठहर सर्वोच्चको छ । यो फैसलाले बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनमा सौतेनी सन्तानको हकलाई सहजीकरण गरिदिएको छ । साथै, सर्वोच्चले सौतेनी छोराछोरीलाई बण्डा नलाग्ने व्यवस्था गर्नु अंशबण्डासम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्थासमेतको विपरीत हुने बताएको छ । 

सौतेनी नालकी आमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैत्रिक हुने तर सौतेनीतर्फबाट जन्मेका छोराछोरीका लागि पैत्रिक नहुने भन्ने धारणा न्यायोचित नहुने ठहर गरेको छ । सर्वोच्चको पूर्ण इजलासबाट फैसला आएकाले स्त्री अंशधन र सौतेनी सन्तानका हकमा पछिसम्मका लागि एउटा मानक स्थापित भएको हो ।

 

टिप्पणीहरू