परिवार च्याप्न कोही पनि भएनन् कम

परिवार च्याप्न कोही पनि भएनन् कम

नेपालको राजनीतिमा परिवारवादको चर्चा भैरहन्छ । प्रमुख पार्टीका शीर्ष नेताहरुले परिवारका सदस्यहरुलाई सांसद,मन्त्रीलगायत विभिन्न लाभको पदमा लैजाने गरेकाले परिवारवादको आरोप र आलोचना हुने गरेको हो । स्वर्गीय गिरिजाप्रसाद कोइरालादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मले यस्ता आलोचनाको सामना गर्नुपर्यो ।

कुनैबेलाका शक्तिशाली गिरिजामाथि छोरी सुजाता कोइरालाई ‘बोकेको’ आरोप लागेको थियो । भलै गिरिजाको उत्तराधिकारीकै तहमा सुजाताले राजनीतिमा आफूलाई अघि बढाउन सकिनन् । माओवादी अध्यक्ष प्रचण्डलाई छोरी र बुहारीका लागि मरिहत्ते गर्ने गरेको आरोप छ । उहाँकी छोरी रेणु भरतपुर महानगरको मेयर छिन् भने पार्टीमा कनिष्ठ भएर पनि बुहारी बिना मगरले सांसद र मन्त्री हुने अवसर पाइसकेकी छन् । मंसिरको चुनावमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि उम्मेदवार रहेकी उनी चुनाव जिते पुन: मन्त्री बन्ने उच्च सम्भावना भएकी नेतृ हुन् ।

शक्तिशाली गिरिजा र प्रचण्डले मात्र होइन, ठाउँ पाउँदा आफ्नालाई च्याप्ने नेपाली राजनीतिको विशेषता नै हो । केपी ओलीले आफूलाई ‘बा’ भन्नेहरुलाई मात्रै अवसर दिने गरेको एमाले नेताहरुको गुनासो सुनिन्छ । राजनीतिमा विधि,पद्धति,प्रणाली र नैतिकताको प्रश्न उठाइरहने माधव नेपाललाई समेत बैनी-ज्वाईं,भाइहरुलाई ‘सेटल’ गर्न लालायित हुने गरेको आरोप लाग्ने गरेको छ । उपेन्द्र यादवमाथि त झन यादव थरवाला मात्रै रोजेर पार्टी र संसदमा पठाउने गरेको आरोप लागिरहेको छ ।

यस्तो आरोपबाट अरु साना पार्टीका नेताहरु पनि पूर्णत: मुक्त छैनन् । समानुपातिक भोटबाट श्रीमतीलाई सांसद बनाएका सीपी मैनाली हुन् या कान्छी श्रीमती दुर्गा पौडेललाई माननीय बनाउन हरतरहले लागिपर्ने बयोबृद्ध कम्युनिष्ट नेता मोहनविक्रम सिंह यसका ज्वलन्त उदाहरण हुन् । राजनीतिमा परिवारवादको कुरा उठ्दा छोरीलाई समानुपातिक सूचिको माथिल्लो क्रममा मिलाउने अर्का बयोबृद्ध नेता महन्थ ठाकुरको नाम पनि आइहाल्छ ।

हुँदाहुँदा राजनीतिमा भर्खरै प्रवेश गरेका र अस्तित्वको लडाईमै रहेका सिके राउतले समेत परिवारका सबैलाई उम्मेदवार उठाएका छन् । हिंसात्मक आन्दोलनबाट मधेसलाई छुट्याउने अभियानबाट फर्किई शान्तिपूर्ण प्रतिष्पर्धात्मक राजनीतिको बाटो समातेका जनमत पार्टीका अध्यक्ष हुन् राउत । उनको पार्टीका लागि यो पहिलो संसदीय चुनाव पनि हो । कुनैबेला मधेसमा जसपा र लोसपाको विकल्पका रुपमा हेरिएको थियो जनमतलाई । तर, अध्यक्ष राउतले चुनावमा घरकै आधा दर्जनलाई मौका दिएपछि अन्तत: यो पार्टी पनि परिवारवादको आरोपले डामिएको छ ।

राउत आफैँ सप्तरी-२ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् । एमालेको साथ लिएर चुनाव जित्न कस्सिएका जसपाका अध्यक्ष उपेन्द्रविरुद्ध उम्मेदवारी दिएका उनले आफ्ना दाजु जयकान्त राउतलाई सप्तरी- १ बाट उठाएका छन् । त्यस्तै,भाउजू बबिता राउत इसरलाई समानुपातिकमा राखेका छन् ।

यसअघि स्थानीय निर्वाचनमा भाइ (सानीआमाका छोरा) वीरेन्द्र माझीलाई हनुमाननगर कंकालिनीको मेयरमा उठाएका सिकेले महदेवाको वडा अध्यक्षमा सालो जागेश्वर इसरलाई खडा गरेका थिए ।

टिप्पणीहरू