के भनेर जवाफ दिनुहुन्छ कमरेड ?

के भनेर जवाफ दिनुहुन्छ कमरेड ?

– दिनेश रायमाझी

समय कस्तो भने जसले हामीमाथि लाठी र मुड्की बर्साए, जसले अराष्ट्रिय तत्व भनेर बदनाम गरे, जसले प्रियजनहरू हामीबाट खोसे, कथित बहुमत ल्याउने नाममा हामीले तिनैलाई भोट दिनुपर्ने बाध्यता आइलागेको छ । व्यवहार, विचारधारा, सिद्धान्त र नैतिकताको हिसाब कुनैले पनि अनुमति नदिने यो अनैतिक, अराजनीतिक र गैरसैद्धान्तिक काम गर्न हामी बाध्य पारिँदै छौं । के यस्तो अवस्था आउनु जायज हो ? हामीले आफैसँग प्रश्न गर्नुपर्छ र विवेकसंगत जवाफ फेला पार्नुपर्छ ।

आज चुनावलाई केवल सत्तामा पुग्ने माध्यम बनाउने काम भएको छ । जसरी पनि सत्तामा पुग्ने र त्यसका लागि सबैखाले नाजायज, अनैतिक हत्कण्डा अपनाउने । जनताले नेतृत्वमा कमजोरी हुन सक्छ र केही कमजोरी हुनु स्वाभाविक हुन्छ भन्ठानेका थिए । तर, समयले नेतृत्वको चरित्रमाथि रहेको पर्दा उघारिदिएको छ । नेतृत्वमा कमजोरी होइन कि नियत लुकेको प्रष्ट भएको छ । कमल थापा, दीपक बोहराहरू ब्यक्तिगत हिसाबले हाम्रा दुश्मन होइनन् । तर राजनीतिक हिसाबले पक्कै हाम्रा विरोधी हुन् । तिनले बोकेको राजनीति र हामीले बोकेको राजनीतिबीच तीव्र लडाइँ छ । अझ सपाट वाक्यांश प्रयोग गर्ने हो भने तिनीहरू हाम्रा अर्थात् वामपन्थीहरूका वर्गशत्रु हुन् । तर, नेतृत्वले तिनै वर्गशत्रुका नाइकेलाई हामीमाथि शासन गर्न रातो कार्पेट/रातो हँसिया हथौडा अङ्कित झण्डा प्रयोग गरेर भित्र्याएको छ । के यो जायज हो ? के यो नैतिक छ ? तर अन्धभक्तहरूको भीडले भरिएको पार्टीमा के जायज, के अनैतिक भन्ने कुराको कुनै अर्थ छैन ।

अहिलेको एमालेभित्र प्रश्न गर्न सक्ने साहस भएका कोही छैनन् । प्रश्न गरिरहने दुई जना थिए– तिनलाई टिकटको कोर्रा लगाएर थन्क्याउने काम भयो । बाँकी जो थिए तिनलाई कबुलियतनामा लेखाएर नयाँ ऊर्जावान भक्त बनाइएको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष कार्यकर्ताका डेरा डेरा चहार्दै मैले टिकट पाउँछु कि पाउँदिन, लौन बुझिदिनुप¥यो भन्दै हिँडिरहेका थिए । यो निश्चित रूपमा वामपन्थीहरू हुर्काउने, तयार पार्ने अवस्था होइन । यसबाट त अराजनीतिक, यसम्यान र सिद्धान्तहीन अराजकहरू हुर्किने उर्वर जमिन तयार हुन्छ । आफ्ना उम्मेदवार को–को हुने हुन् भन्ने कुरा उपाध्यक्षलाई जानकारी नहुने पार्टी कस्तो होला ? हुन त अब रोएर हुनेवाला केही छैन, चुक गई चिडिया !

एमालेको यसपटकको टिकट वितरणमा मलाई लाग्छ अध्यक्ष ओलीलाई विवेक प्रयोग गर्ने अख्तियारी प्रदान गरेको हो पार्टीले । अध्यक्षको विवेकबाट सबैले टिकट त पाए तर टिकट पाउने धेरै अध्यक्षको विवेकविरुद्ध जान नसकेर उम्मेदवार बनिरहेका छौं भन्छन् । कतिपयले उहाँको विवेकलाई चुनौती दिएर उम्मेदवारी दिएका पनि छन् । पृथ्वीसुब्बाले चुनाव हारे भने अथवा कमल थापा र दीपक बोहराले हारे र घनश्यामले जिते भने, शेरबहादुर कुँवरले जिते भने अध्यक्षको विवेकको के दुर्दशा होला ? सम्झिँदा पनि चिन्ता लाग्छ । झिकिदे गाँड भन्दा थपिदे गाँड भनेजस्तो केन्द्रमा सरकार गयो, प्रदेशमा सरकार गयो, राष्ट्रिय सभामा हारियो, स्थानीय तहको बर्चस्व सकियो । यस्तो हुनु आफैँमा नेतृत्वको ठूलो असफलता हो खासमा । तर एमालेपंक्तिमा यस्तो असफलतालाई असफलता मानिएन ।

खैर, आजको आवश्यकता थियो संयमता अपनाउने, सहिष्णुता प्रदर्शित गर्ने, बदला नलिई बिग्रेको माहोललाई बनाउने र शक्ति आर्जन गर्ने । तर त्यस्तो भएन । अरु त अरु, जनताले ठीकै छ भनेका मान्छे पनि यो चुनावी प्रक्रियाबाट बाहिर पारिए । आज जनतासामु भोट माग्न जाने नैतिक आधार तलका धेरै मान्छेसँग छैन । फलानो पनि एमाले हो र भनेर सोध्ने हैसियत जनताले बनाएका छन् । गाउँमा जवाफ दिन केन्द्रबाट आउने त कोही होइन । जवाफ दिने गाउँकाले नै हो । के भनेर जवाफ दिने ? एमाले हुन् भनेर हामीले भन्दा उनीहरूले हामी एमाले होइनौं भन्छन् तर हामीले होइनन् भनौं भने तिनले सूर्य चिह्न लिएका छन्, कसरी होइनन् भन्ने ? हो, यही यथार्थ बुझ्ने विवेक प्रयोग भएन ।

एउटा माघमा मात्रै जाडो हुने होइन । हरेक माघमा जाडो हुन्छ । त्यसकारण धेरै खप्ने ज्याकेट किन्नुपर्छ । बरु हारे हारिन्थ्यो पार्टीकै मान्छेहरूलाई उम्मेदवार बनाउनु धेरै अर्थमा राम्रो हुनेथियो । आफ्नो शक्तिको पनि परख हुने र एउटा आन्दोलन नै बनाउन सकिने अवसर थियोे यो चुनावलाई । दुःखका साथ भन्नुपर्छ कि त्यो ऐतिहासिक अवसर विवेकको पाइतालामुनि दबियो । अब के हुन्छ त वा के गर्ने अब ?

शक्तिशाली हुँदा त सिद्धान्तको, विचारको पक्षलाई नेपथ्यमा राखेर पनि काम गर्न सकिन्छ । तर, कमजोर हुँदा शक्ति आर्जन गर्ने भनेको विचार, सिद्धान्त र आचरणको सहायताबाट हो । नेतृत्वबाट त चुक भयो नै । अब यो सुध्रिन सम्भव छैन । तर नेता, कार्यकर्ता र हामी जनताले यसलाई सच्याउन सकिने सानो गुञ्जायस भने छ है ! हाम्रो सिद्धान्त, विचार र लक्ष्यसँग मेल नखाने बिचारधारा बोकेकाहरूलाई सूर्य चिह्नबाटै लडेको भए पनि भोट नदिने । बरु त्यसको सट्टामा स्वतन्त्र वामपन्थी छ भने, एस माकेका उम्मेदवार पनि छन् भने तीमध्ये सबैभन्दा योग्य छानी भोट दिएर जिताउने ।

यदि यिनीहरू छैनन् भने काङ्ग्रेसी उम्मेदवारलाई भए पनि भोट हालेर जिताउने तर वर्गशत्रुको कित्ताबाट आएर रातो झण्डामा बेरिएकालाई भोट नगर्ने किनभने जतिसुकै ठूला कुरा गरे पनि, भित्रिएका जति सबैले चुनाव जिते पनि संसदमा एमालेको यसपटकको स्थान भनेको प्रमुख प्रतिपक्षकै हो । त्यसकारण यी आगन्तुक एमालेजनले चुनाव हार्दा पनि पार्टीलाई केही फरक पर्नेवाला छैन, बरु फाइदै हुनेछ । यस्तो गर्दा के फाइदा हुनेछ भने एमालेमा थोरबहुत शुद्धिकरण हुनेछ । वर्गविरोधीहरूको घुसपैठ रोकिनेछ । कम से कम वामपन्थी नै संसदमा पुग्नेछन् र त्यहाँ जनताका मुद्दा मुखरित हुने वातावरण बन्नेछ । सबैभन्दा ठूलो कुरा भनेको मतदानबाटै प्रतिगमनलाई परास्त गर्न सकिनेछ । सर्प मर्ने र लठ्ठी पनि नभाँचिने यो उपाय जनताले प्रयोग गर्ने हो भने एमालेलाई बचाउन सकिन्छ । र, अर्को पटक एमाले बौरिन सक्छ ।

मेरो बिचारमा, यस पटकको चुनावमा एमालेको पराजय हुनु, एमाले कमजोर हुनु भनेको भविष्यमा एमाले बलियो हुनु हो । एमालेको जित सुनिश्चित हुनु हो किनभने एमालेको पराजयमै वामपन्थी एकता र समाजवादको भविष्य अडिएको छ । भन्थ्यो भन्नुहोला ।

टिप्पणीहरू