‘मोबाइल पत्रकारिता तालिम’ बाट २० जना लाभान्वित

‘मोबाइल पत्रकारिता तालिम’ बाट २० जना लाभान्वित

कात्तिक १ गतेबाट काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको आवासीय मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । वाग्मती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको उक्त तालिमबाट २० जना पत्रकार लाभान्वित भएका छन् ।

काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका विभिन्न जिल्लाका अनलाइनमा कार्यरत पत्रकारहरु उक्त तालिममा सहभागी थिए । हात–हातमा हुने मोबाइललाई ‘मोबाइल पत्रकारिता’ मा कसरी सदुपयोग गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित थियो । सो क्रममा पत्रकारहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास पनि गराइएको थियो ।

अनुभवी प्रशिक्षकद्वय विकास कार्की र श्रुति श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिमका दौरान मोबाइल डिभाइसलाई फोटो तथा भिडियो लिने र त्यसलाई अनलाइन तथा टेलिभिजन पत्रकारितामा उपयोग गर्नेबारे सिकाइएको थियो ।

पाँच दिने तालिमको हिजो समापन गर्दै रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । विगतमा पनि कार्यालयले सय जना पत्रकारलाई यस्तै प्रकारको तालिमबाट लाभान्वित बनाएको उनले जानकारी दिए ।

सहभागीहरुले तालिमबाट धेरै कुरा सिक्न पाएको र मोबाइल पत्रकारितामा सक्रिय भएर लाग्न हौसला मिलेको बताएका थिए । यस्ता खालका प्रशिक्षणले पत्रकारहरुको आत्मबल बढ्ने आयोजकले विश्वास लिएको छ ।

टिप्पणीहरू