महोत्तरीमा गिरिराजको चुनौती पन्छिएपछि माओवादी मख्ख

महोत्तरीमा गिरिराजको चुनौती पन्छिएपछि माओवादी मख्ख

महोत्तरी-१ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी हालेका नेपाली कांग्रेसका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । पार्टीको आग्रह आत्मसात गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर गठबन्धनका उम्मेदवारलाई समर्थनक गर्ने उनले घोषणा गरे ।

‘ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटव्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार छन् । ‘नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको विकासमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने विषयलाई मध्यनजर गर्दै उम्मेदवारी निष्क्रिय बनाएको हो,’ खड्काले भने ।

तर, कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका पोषण केसीले भने आफ्नो उम्मेदवारी कायमै राखेका छन् । तथापि पटक-पटक यस क्षेत्रबाट चुनाव जित्दै आएका माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पोखरेललाई ढुंगानाको उमेदवारी निस्क्रिय बनाउने निर्णयले राहत दिएको छ ।

यता, प्रदेशसभाको लफडा भने अझै पनि टुंगिएको छैन । महोत्तरी १ ‘क’ मा गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेपछि आधिकारिक को भन्नेमा विवाद चर्किएको हो । एकीकृत समाजवादीका सुरेश राउत र लोसपाबाट पिताम्बर महतो प्रदेशसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

दुवै उम्मेदवारले आफैँ गठबन्धनको साझा उम्मेदवार दावी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन । लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै आफूले उम्मेदवारी दर्ता गराएको महतोले बताए ।

निर्णयानुसार महोत्तरी १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि एकीकृत समाजवादीका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

गठबन्धनको साझा उम्मेदवार टुंग्याउन माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिपबहादुर योन्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको छ । प्रत्येक दलबाट तीन-तीन जना सदस्य रहने गरी कार्यदल गठन भएको संयोजक योन्जनले जानकारी दिए । कार्यदलले निर्वाचनसम्बन्धी कार्ययोजना समेत बनाउनेछ ।

टिप्पणीहरू