मेलम्चीमा भीषण आगलागी, होटल, पसल बेकरी ध्वस्त
लक्ष्मी पूजापछि हिजो सिन्धुपाल्चोकमा भएको आगलागीमा एउटा होटल, किराना पसल, बेकरी जलेर नष्ट भएको छ । मध्यरातमा मेलम्ची नगरपालिका–११ हेलम्बुस्थित बसपार्क नजिकैका उक्त होटल, किराना र बेकरी पसलमा लागेको आगोबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय दिपक, राजन, केदार र माधव दुलालको घरमा आगलागी भएको हो । सोही घरमा व्यवसाय सञ्चालन गर्दै आएका हरिशरण श्रेष्ठ, मेघनाथ गौतम र सुनिल केसीका पसल पूर्ण रुपमा जलेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीको कारण खुलिसकेको छैन ।
‘हिजो मध्यरातमा आगलागी भएको खबर आएको छ । त्यसको आधिकारीक विवरण टिपाउन सुरु भइरहेको छ‘, उहाँले भन्नुभयो, ‘आगो लाग्नुको कारण खुल्न सकेको छैन । अहिले प्रहरीले यसमाथि अनुसन्धान गरिररहेको छ ।’
नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी, नजिकैको पाँचखाल नगरपालिकाबाट आएको दमकलको सहायताबाट गएराति नै आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । हाल आगलागी पीडितलाई मेलम्ची बजारका स्थानीय संघ सस्था, युवा क्लब, सहकारी संस्था, राजनीतिक दल र स्थानीय समाजसेवीको संयुक्त पहलमा समिति गठन गरि राहत संकलनको कार्य भइरहेको स्थानीय एक युवाले जानकारी दिए ।
पूर्व वडा जनप्रतिनिधिहरुले स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई समेत सहयोगको निम्ति अपिल गरेका छन् ।
टिप्पणीहरू