तारे होटलका साहुजीहरुकाे हुलै बालुवाटारमा
होटल संघ नेपालका पदाधिकारीहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् । अध्यक्ष सृजना राणाको नेतृत्वमा टोली आज दिउँसो बालुवाटार पुगेको हो ।
गभर्नरसमक्ष ज्ञापन पत्र बुझाउँदै होटल साहुजीहरुले कोभिड–१९ महामारीले तहसनहस पारेको होटल तथा पर्यटन उद्योग अहिले पनि सहज नभएको उल्लेख गरेको बताइन्छ । उनीहरुले पछिल्लो अवस्थामा केही सहज देखिए पनि अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक घाटामा सञ्चालन भइरहेको गुनासो सुनाएका थिए ।
तीन वर्षअघि १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ६ लाख पुग्न गाह्रो भएको उनीहरुको भनाइ छ । ‘यस्तो अवस्थामा व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन,’ अध्यक्ष राणाले भनिन्, ‘हामी व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेकै बैंकको बढ्दो ब्याजदर र समयसीमाभित्र साँवा ब्याज बुझाउने ताकेता हो ।’
ज्ञापनपत्रमा अहिलेको परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन नसकिने भन्दै कम्तीमा पनि दुई वर्षका लागि कर्जा पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा उपलब्ध गराउन जोडदार माग गरिएको छ ।
राणाले नेतृत्व गरेको टोलीमा गण्डकी प्रदेश संघका अध्यक्ष हरि शर्मा गैरै,पोखरा क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, क्षेत्रीय होटल संघ सिद्धार्थनगरका अध्यक्ष सीपी श्रेष्ठ,क्षेत्रीय संघ चितवनका तर्फबाट बलराम सुवेदीका साथै होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह र महासचिव साजन शाक्य सहभागी थिए ।
टिप्पणीहरू