चक्र र दीर्घलाई बुझाउने चक्कर

चक्र र दीर्घलाई बुझाउने चक्कर

सरकारले निर्वाचनको मुखमा अरु दुई ठूला विभागका हाकिम फेर्न लागेको छ । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभाग र भन्सार विभागको महानिर्देशक परिवर्तन गर्न खोजिएको हो । निर्वाचन आयोग स्रोतका अनुसार अर्थले यी दुई विभागको महानिर्देशक परिवर्तन गर्नका लागि बहादुर भवनसँग सैध्दान्तिक सहमति माग गरेको छ ।

बहादुर भवन स्रोतका अनुसार,अर्थको उक्त प्रस्तावमा सहमति भने दिइसकिएको छैन । त्यहाँबाट हरियो बत्ति बल्नेबित्तिकै दुई महत्वपूर्ण विभागका हाकिमहरु हेरफेर हुने छन् ।

हाल भन्सार विभागको नेतृत्व कमलप्रसाद भट्टराईले गरिरहेका छन् । उनलाई नारायण सापकोटालाई फागुन २ गते हटाएर त्यहाँ लगिएको थियो । आठ महिनामै उनलाई त्यहाँबाट फालेर चक्र बूढालाई लैजाने तयारी रहेको अर्थ उच्च स्रोतले जनआस्थालाई जानकारी दिएको छ । यस्तै आठ महिनाअघि नै लाजिम्पाटस्थित आन्तरिक राजश्वको कमाण्ड सम्हाल्न पुगेका रितेश शाक्यलाई त्यहाँबाट तानेर दीर्घराज मैनालीलाई लैजाने योजनास्वरुप अर्थले बहादुर भवनसँग अनुमति मागेको बताइन्छ ।

सरकारले निर्वाचन आचार संहिता सक्रिय रहेकै बेला यही सातामात्र राजश्व अनुसन्धान विभागको हाकिम झलकराम अधिकारीलाई हरिहरभवनबाट साढे चार महिनामै सिंहदरबार तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काएको छ । सो ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मदन दाहाललाई खटाइएको छ । यसरी चुनावका मुखमा ठूला विभागका कर्मचारीहरुको परिवर्तनलाई चुनावी खर्चसँग जोडेर हेर्नेहरुको कमि छैन ।

टिप्पणीहरू