मृत्युभोजको लागि भारतबाट सामान झिकाउन सिफारिस
भारतबाट अवैध रुपमा हुने मालसामान आयातमा रोक लगाउने भनिए पनि स्थानीय तहले गरेका सिफारिसको आधारमा खुलमुल्ला त्यस्ता सामान झिकाइएको छ । सिरहामा नगरपालिकाको सिफारिसमा पढ्दा र सुन्दा पनि अचम्म लाग्ने व्यहोराको पत्र प्रेषित गरिएको छ ।
सिरहा नगरपालिकाले अस्ति जारी गरेको सिफारिसपत्रमा कम्तिमा १० किसिमका सामान भारतबाट ल्याउन दिन स्थानीयको नाममा पत्र लेखिएको छ । स्थानीय वडा नम्बर १० का रामउद्गार मुखियाकी सासूको निधन हुन लागेकोले मृत्यु भोज भतेरका लागि भारतीय बजारबाट सामान ल्याउन सिफारिस गरिएको हो ।
वडाध्यक्ष दिपक मुखियाले हस्ताक्षर गरेको पत्रमा मृत्यु भोजको निम्ति भारतको लदनिया बजारबाट सामान ल्याउन दिन सम्बन्धित निकायलाई भनिएको छ । सिफारिस गरिएको सामानमा चिनी ५० किलो, चामल ५ सय किलो, दाल ५० किलो भनिएको छ ।
तर, त्यति धेरै खाद्यान्न र चिनी मगाउँदा खाने तेल जम्मा ३ लिटर मगाइएको उल्लेख छ । अर्को तेल १० लिटर, मरमसला, कपडा र अन्य सामान भनिएको छ । पत्रको व्यहोरा अध्ययन गर्दा सबै व्यहोरा पहिले लेखेर सामानको परिणाम पछि लेखिएको स्पष्ट हुन्छ ।
पत्र कात्तिक २० गते लेखिएको छ, तर व्यहोरामा सासु मृत्यु हुन लागेको लेखे पनि मिति सात दिनअघिको १३ गते उल्लेख छ । यसले तराईमा स्थानीय तहको सिफारिसमा पारिबाट सामान आयात गर्ने गरिएको नयाँ तथ्य खुलेको छ ।
टिप्पणीहरू