पत्रकार महासंघद्वारा ट्राफिक प्रवक्तामाथि कारबाही माग
समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार भएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ, धादिङ शाखाका कार्यसमिति तथा ग्यालेक्सी फोर के टेलिभिजनका संवाददाता विकास रौनियारलाई बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले दुर्व्यवहार गरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।
हिजो दिँउसो समाचारको निम्ति पुगेका पत्रकारमाथि प्रवक्ता सापकोटाले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको महासंघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
भनिएको छ, ‘महासंघ धादिङ शाखाकाअनुसार कात्तिक २३ गते बुधबार समाचारका लागि तथ्याङ्क र भिजुयल बाइट माग गर्दा प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सापकोटाले पत्रकार रौनियारलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए ।’
महासंघले उक्त कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको छ । पत्रकारितामा लागेकालाई हतोत्साही बनाउने उक्त घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।
टिप्पणीहरू