काठमाडौंमा भीड बढेपछि राष्ट्रिय परिचयपत्र बनाउनेलाई जिल्ला जान आग्रह

काठमाडौंमा भीड बढेपछि राष्ट्रिय परिचयपत्र बनाउनेलाई जिल्ला जान आग्रह

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवाग्रहीलाई आफ्नै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्न आग्रह गरेको छ । विभागले सिंहदरबारको स्टेसनमा सेवाग्रहीको भीड बढेकाले तोकिएका स्थानबाटै परिचयपत्रको विवरण प्रविष्ट गर्न अनुरोध गरेको हो ।

केन्द्रबाट सरकारी कर्मचारी र विशिष्ट पदाधिकारीले मात्र सेवा लिन पाउने उल्लेख गर्दै विभागले अन्य सर्वसाधारणको उपस्थितिले काममा असहजता भएको बताइएको छ । सरकारी कर्मचारीलाई अनलाइन फारम भरे पनि आफ्नो कार्यालयको परिचयपत्र बोकेर मात्र विभागमा आउन महानिर्देशक तिर्थराज भट्टराईले आग्रह गरेका छन् ।

उनले जरुरी राहदानी बनाउनुपर्ने भएमा त्यसको पुष्टि हुने प्रमाणसहित अनलाइन फारम भरी तोकिएको स्थानमा परिचयपत्रको विवरण प्रविष्ट गर्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरुले आफ्नो परिचयपत्र बनाउन सक्ने विभागको सूचनामा उल्लेख छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा भने कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका सप्तरी र सर्लाहीका नागरिकले सेवा लिन पाउने छन् । नारायणहिटी दरबार परिसरमा प्रदेश १, लुम्बिनी, गण्डकी र मधेश प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतहटका सेवाग्राहीले परिचयपत्र बनाउनुपर्ने विभागले बताएको छ ।

टिप्पणीहरू