चरिकोटमा शंकास्पद वस्तु पड्किएपछि सर्वसाधारणको भागदौड
दोलखाको चरिकोटस्थित सातदोबाटोमा ठूलो आवाजमा शंकास्पद वस्तु पड्किएपछि सर्वसाधारण भागाभाग गरेका छन् । सातदोबाटोस्थित भीमेश्वर नगरपालिकाले निर्माण गरिरहेको बिजनेश कम्लेक्स नजिकै थुपारिएको फोहोरमा एक्कासी ठूलो आवाजमा विस्फोट भएपछि बम हुनसक्ने आशंका गर्दै स्थानीयका भागदौड मच्चिएको हो ।
स्थानीयले त्रसित हुँदै दोलखा प्रहरीलाई खबर गरेका थिए । तत्काल दोलखा प्रहरीको टोली नेपाली सेनाको बम डिस्पोजल टोलीसहित घटनास्थलमा पुगेको बताइन्छ । तर त्यहाँ कुनै शंकास्पद वस्तु फेला नपरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको जानकारी पाएलगत्तै नेपाली सेनासहितको टोली घटनास्थल पुगेर चेकजाँच गर्दा कुनै वस्तु फेला पार्न नसकिएको हो । फोहोरसँगै स्थानीयले लाइटर फालेको र दिउँसोको घामले लाइटर पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । तर विस्फोटको आवाज निकै ठूलो सुनिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले पनि नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ ।
यसअघि गएराति दोलखाको तामाकोशी गाउँपालिकामा पार्किङ गरेर राखिएको पालिकाका उपाध्यक्षले प्रयोग गर्ने गरेको सवारी साधन र डिजिटल साइनबोर्ड तोडफोड गरिएको छ ।
टिप्पणीहरू