८० प्रतिशतलाई २० प्रतिशत ल्याउनेले उल्ट्याउनै सक्दैन नि !
– हरि रोक्का, अर्थ राजनीतिक विश्लेषक तथा पूर्वसभासद्
मामिलामा राम्रो दखल राख्ने हरि रोका कम्युनिष्ट पार्टीका विभिन्न उतार–चढावमा संलग्न हुँदै अहिले विश्लेषकीय भूमिकामा छन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका उनी पहिला विष्णुबहादुर मानन्धर समूहको नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन, पछि एमाले हुँदै माले र पछिल्लो समय पूर्वमाओवादी केन्द्रनिकट रहे । माओवादी केन्द्रले केही समय उनलाई कृषि मन्त्रालयको विज्ञका रूपमा काम दियो । त्यसअघि एमालेमै हुँदा चिया तथा कफी विकास बोर्डको कार्यकारी अध्यक्ष थिए ।
– हरि गजुरेल
निर्वाचनको नतिजा अपेक्षित थियो वा अनपेक्षित ?
– अहिले जसरी घण्टीको मत आएको छ त्यसरी नै उदय होला भन्नेचाहिँ थिएन तर एमाले, कांग्रेस, माओवादी तीन ठूला दलविरुद्ध राप्रपा वा अन्य कुनै मसिना पार्टीको अनपेक्षित मत आउन सक्छ भन्नेचाहिँ थियो । विकल्पमा घण्टी अगाडि आयो, मतदाताले पत्याइदिए । मुख्य भनिएका शीर्ष पार्टी वा नेतृत्वपंक्तिप्रति मतदाताको अविश्वासले गर्दा यस्तो परिणाम आएको हो ।
अहिलेको निर्वाचनले अभिव्यक्त गरेको जनमत कस्तो हो र यसले के संकेत गर्दैछ ?
काठमाडौंका मतदाता अलि संवेदनशील हुने गर्छन् । कहिलेकाहीँ आवेगमा आएर नानीमैयाँ दाहाल र गोल्चे सार्कीहरूलाई स्थापित गराउँछन् त कहिले बालेन साहलाई मेयरमा जिताउँछन् । पुराना र चिरपरिचित अनुहारलाई दण्डित गर्नुपर्छ, हराउनुपर्छ भन्ने मानसिकताले गर्दा नै यो सब भइरहेको छ । महानगरपालिकाबासीको मानसिकतालाई मिडिया र सामाजिक सञ्जालले ‘मोटिभेट’ गरेका छन् । शहरमा नयाँ पार्टीका उम्मेदवारहरू विजयी हुनु भनेको काठमाडौँका मतदाताले आवेगात्मक र काठमाडौँ बाहिरका भोटरले सन्देशमूलक मत दिनु हो । काठमाडौँ बाहिरका मतदाताले तपाईंहरू अक्षम, बृद्ध र विश्वसनीय हुनुभएन भनेका हुन् ।
शहरिया कुलिन वर्गले शालीन विद्रोह ग¥यो वा त्यसले मूलधारको राजनीति स्वीकार गरेन भन्नेमध्ये यो जनमतको सार के हुन सक्छ ?
– दल तथा नेतृत्व भरपर्दाे भएन । मतदाता विकल्पको खोजीमा थिए । विकल्प नभएसम्म त उनीहरूलाई नै मत दिने हो । कतिपय परिस्थितिमा सत्ताधारीलाई नदिएर सत्ताविरोधीहरूलाई मत जाहेर गर्ने स्थिति हुन्थ्यो तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरी झण्डै २० लाख मत ल्याउनुलाई जनताले रूपान्तरण खोजेको रूपमा बुझ्नुपर्छ । मतदाताले यसपटक दललाई स्पष्ट सन्देश दिएका छन्– या त तिमी सुध्रिऊ, अन्यथा अबको पाँच वर्षभित्र नयाँ शक्तिको उदय हुन जरुरी छ ।
यी दल सुध्रिन्छन् भनेर आशा गर्न सक्ने ठाउँ छ ?
– सुध्रन सक्ने सम्भावना अत्यन्त कम देख्छु । हामीकहाँ दलमा क्रियाशील योजनाविद्, नीति–निर्माता नभएका होइनन्, प्रशस्त छन् । आममानिसको आवश्यकता, मुलुकको अवस्था, अन्तर्राष्ट्रिय रूपमा भइरहेको परिवर्तन, विश्वव्यापी रूपमा आइरहेको संकट र नेपाल आफँैभित्र उम्लिरहेको संकट समाधान गर्न उनीहरूले के–कस्ता कार्यक्रम अगाडि सार्छन् यो मुख्य प्रश्न हो । राजनीतिक दलमा आबद्ध योजनाविद्, नीति–निर्मातासँग पर्याप्त ज्ञान छैन । आक्षेप लगाएजस्तो होला तर वास्तविकता र सत्य यही हो । अहिले हामी संकटको भुमरीमा छौं र जे पनि हुन सक्छ ।
अहिले संसदीय राजनीतिमा घण्टी र लौरोजस्ता ‘स्वतन्त्र’ पार्टी र व्यक्तिको उदय संसदीय प्रणालीका लागि कत्तिको खतरापूर्ण हो ?
– राप्रपाले यस प्रकारको मत पाउनु एक प्रकारको कायापलट नै हो । ०७४ सालमा एक सिट जितेको पार्टीले अहिले प्रत्यक्षमा सात सिट जितेको छ भने लाख ल्याउने देखिन्छ । कट्टर राजावादी र हिन्दू धर्मको एजेण्डा लिएर हिँडेको पार्टीमा प्रष्टता देखिन्छ तर घण्टी चुनाव चिह्न लिएर आएकाहरुको पार्टीको नीति, सिद्धान्त, विचार र कार्यक्रम केही पनि छैन । सेन्टर टु द राइट भन्दै आएको छ उसले । त्यो भनेको दक्षिणपन्थ नै हो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी मिलेको खण्डमा २० प्रतिशत मत पुग्न सक्छ । यही मतले अहिलेको सिष्टम र प्रणालीलाई उल्ट्याउँछ भन्न त गाह्रो छ किनकि ८० प्रतिशतलाई २० प्रतिशतले चुनौती दिन सक्दैन तर एमाले, माओवादी र कांग्रेसभित्रका दक्षिणपन्थी शक्ति नै एकजुट भएको खण्डमा भने व्यवस्था परिवर्तन हुन सक्छ ।
कसैले यो राजतन्त्र पक्षधरको हो सल्बलाहट भनेका छन् । कसैले युरोपेली–अमेरिकी चाहनाको प्रतिविम्बन पनि भनेका छन् । यसमध्ये कुन कुरामा दम छ ?
– जब राजनीतिक, वैचारिक रूपमा आफूलाई क्षमतावान र सबल बनाउन सकिँदैन त्यसपछि अरुले आक्रमण गर्ने हो । बिरामी हुनुको पछाडि प्रधान कारण एउटा र सहायक कारण अरु धेरै हुन सक्छन् । जस्तोः मुटु र किड्नी एकै पटक फेल भए भने सहायक रोग मूल रोग लागेपछि नै देखिने हुन् । ०४६ सालको परिवर्तनलाई जनताको पक्षमा नलाँदाखेरि अहिले राजनीतिक रूपमा यो रोग देखिएको हो । बीचमा नेकपा माओवादीले त्यसलाई केही च्यालेञ्ज गरेको थियो तर ऊ पनि पुरानौ पार्टीको फेर समातेर उकालो लाग्न थालेपछि परिवर्तनको एजेण्डा केही बाँकी रहेन । र, पनि दक्षिणपन्थतर्फ उन्मुख हुन पुग्यो । यस्तो अवस्था सधैँ कायम रहँदैन बरु अरू नयाँ प्रगतिशील शक्ति वा अहिलेका प्रगतिशील पार्टी विघटन भएर नयाँ फोर्स जन्मन सक्ने स्थिति बन्छ । त्यसले नयाँ परिवर्तनको जग बसाल्छ ।
यहाँले इंगित गर्नुभएको नयाँ फोर्स भन्नाले ?
– लेफ्ट डेमोक्रेटिक फोर्स नै हो त्यो । आफ्नै पार्टीभित्र विद्रोह गरेर बाहिर आउने कुरालाई नकार्न सकिन्न । यदि, यसरी आएको खण्डमा उनीहरूले फिल्ड बनाउँछन् अन्यथा राजावादी, अमेरिकी र युरोपियनको सपोर्टमा दक्षिणपन्थी शक्ति विस्तार हुन सक्छन् ।
यो परिणामबाट हाम्रा कम्युनिष्ट नेता वा पार्टी पंक्तिले के पाठ सिक्नुपर्ला ?
– नेपालका कम्युनिष्ट पार्टी भनेका नाम वा ब्राण्ड मात्र हुन् । नेकपा एमाले माक्र्ससिस्ट बेस्ड पार्टी नै रहेन न त माओवादी नै ! ती न माक्र्सवादी न त माओवादी वा लेनिनवादी नै हुन् । तिनका सांगठानिक आचरण, सिद्धान्त, व्यवहार कहीँ–कतै पनि माक्र्सवाद, माओवाद, लेनिनवादसँग मेल खाँदैनन् । न माक्र्सवाद, लेनिनवादको कार्यक्रमसँग कहीँ साइनो छ । नेपालमा लेफ्ट पार्टी वा वाम पार्टी नै छैन ।
अब पाँच वर्षको सत्ता राजनीति ०५१–०६१ को दशकझैं वा त्योभन्दा बढी गञ्जागोल होला ?
– सबै भताभुंग हुनलाई को कति जिम्मेवार हुने भन्ने मुख्य विषय हो । अहिले नै भत्किहाल्छ वा सकिन्छ भन्ने त होइन । अहिले पनि गठबन्धनमा चार वटा पार्टीले अग्रता हासिल गर्न सक्छन् । हिजो वाम लोकतान्त्रिक गठबन्धन तोडेर एमालेसँग कुम जोड्न गएको जसपा पुरानै घरमा फर्कन पनि सक्छ । सत्ताको साइनोले गर्दा वा लिंगरिंग पनि हुन सक्छ । हामीकहाँ ठूलो समस्या मूल्यबृद्धि, असहज जीवनपद्धति, जीवन धान्न नसक्ने स्थिति हो । यस अलावा पहिले निर्यातभन्दा आयात बढी थियौं तर अहिले आयात पनि घट्न थालेको छ । यसको सिधा अर्थ आमनेपालीको क्रयशक्ति घट्यो । किनेर खान पनि नसक्ने स्थितिमा पुग्यौं । जीवन धान्न कञ्जुस्याइँ गर्नुपर्ने स्थिति आयो । यस्तो आर्थिक, सामाजिक समस्याको कुनै पनि राजनीतिक दलले समाधान गर्न सकेनन् । जनताका यस्ता समस्याले कुनै दललाई छोएन । यो स्थिति अझै अकासिएको खण्डमा बीचमै विद्रोह हुन सक्ने र सिष्टम नै कोल्याप्स हुने वा बाँकी नरहने स्थिति आउन सक्छ ।
अहिले प्राप्त मतपरिणाम हेर्दा १३८ सिट कसैको पुग्ने देखिएन । माओवादी एमालेसहितका कम्युनिष्ट मिल्दा सरकार बन्ने अवस्थामा उनीहरू एक ठाउँ आउने स्थिति कत्तिको देखिन्छ ?
– त्यस्तो सम्भावना तत्काल छैन । जुन दम्भका साथ ओलीले पार्टी विभाजन गरेका थिए । त्यसको तुक रहेन । उनीसँग दुई तिहाइ नजिकको बहुमत छँदै थियो । प्रचण्डले मैले पाँच वर्षकै लागि तपाईंलाई छाडिदिएँ, ढुक्कले प्रधानमन्त्री चलाउनुहोस् भनेर छाड्दा र आफू सत्ता÷ शक्तिमा हुँदा न पार्टी, न त सरकार नै जोगाउन सके । आर्थिक–सामाजिक रूपान्तरणका लागि नगरी नहुने काम केही गर्न सकेनन् । आफ्नो काँधमा जिम्मेवारी हुँदा, सहजतापूर्वक सत्ता चलाउने साँचो हुँदाहुँदै अरुलाई जिम्मा लगाउनेले फेरि पार्टी एकता गरेर ओलीकै नेतृत्वमा सत्ता चलाउने सम्भावनाचाहिँ देखिँदैन ।
कम्युनिष्ट पार्टी र आन्दोलनको आज जुन दुर्गति भइरहेको छ । त्यसमा कुन–कुन कम्युनिष्ट नेताको के–कस्तो भूमिका छ ?
– एमाले र माओवादीको नेतृत्वमा रहेका अधिकांश मान्छे गैरवामपन्थी हुन् । उनीहरू ढोंगी हुनु, पार्टीको नेताप्रति लाचारी व्यक्त गर्नु, बफदारीको पनि हदसम्म बफदारी व्यक्त गर्नु, एक खालको चाकडी, चाप्लुसी, सैद्धान्तिक र वैचारिक कुरा नहुनु नै यसका मूल कारण हुन् । उनीहरू पुँजीवादको हनुमान हुनुले पनि अब कम्युनिष्ट रहेनन् । केपी ओलीलाई बा बनाउने र प्रचण्डलाई भयंकर सुप्रिमो बनाउनेहरू दुबै पंक्ति वास्तवमा लेफ्ट आन्दोलनका लागि बाधक हुन् ।
अहिले ०१५ सालयताकै सबैभन्दा कम मत खस्यो । झण्डै ४० प्रतिशत मतदाताले मतदानै गरेनन् । यस्तो प्रणाली र पद्धतिले हामीलाई कहाँ पु¥याउँछ ?
– हिजो आफू गर्न सक्ने ठाउँमा हुँदा जनताको हितमा किन केही नगरेको ? सत्तामा हुँदा पुँजीवादी कार्यक्रम लागू गरियो । साधारण मान्छेको पक्षमा के काम भयो ? सार्वजनिक सवारीको भाडादेखि मूल्यवृद्धि केही घटाइयो त ? शिक्षा सर्वसुलभ बनाइयो त ? अनि अस्पतालमा सर्वसाधारण मान्छेले पहुँच पाए ? किसानद्वारा उत्पादित केही वस्तुको दाम बढ्यो ? बिचौलिया मोटाएको कहीँ अनुगमन भयो ? कुरा त कामबाटै थाहा हुने हो । सत्तामा हुँदा केही नगरेपछि तिनीहरूलाई सामाजिक सञ्जालबाटै उल्याउनु वा नंग्याउनु अस्वाभाविक होइन । सामाजिक सञ्जालमा खिल्ली उडाउँदा इन्काउन्टर गर्नका लागि काम हुनुप¥यो । अनि मतदाताले लाम लागेर किन उनीहरूलाई मत दिने ? जबकि सत्तामा हुँदा आममान्छेको पक्षमा माखो मार्दैन फेरि तिनैलाई सत्तामा पु¥याउनुपर्ने भएपछि कम मत खस्ने नै भयो ।
टिप्पणीहरू