‘सेना किन मुकदर्शक भएर बस्यो बुझ्न सकेको छैन’
छिमेकीलाई विवादमा तान्नु उचित होइन
८४ वर्षीय पशुपति शमशेर जबरा नेपाली राजनीतिका पाका तथा अनुभवी नेतामध्येमा पर्छन् । पञ्चायतकालमै पटक-पटक मन्त्री बनेका उनी बहुदलपछि पनि धेरैचोटि सरकारमा गए । सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने राणा विघटित प्रतिनिधिसभामा सांसद थिए । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाती उनलाई 'नाती जर्नेल' भनेर पनि चिनिन्छ । देशको प्रधानमन्त्री बन्ने आशा अझै मारिनसकेका उनी अहिले राप्रपाको वरिष्ठ नेताको जिम्मेवारीमा छन् ।
मुलुकको अस्थिर राजनीतिले यतिबेला आम नागरिकलाई चिन्तित बनाएको छ । बौद्धिक जगतले मात्र होइन सर्वसाधारण पनि देशको राजनीति अब कता जाला ? अस्थिरता कहिलेसम्म कायम रहला ? भन्ने अन्योलतामा रहेको देखिन्छ । चिया पसलदेखि सार्वजनिक यातायातसम्म यसबारे चासो र चर्चा भैरहेका छन् । यस्तोमा देशको राजनीतिले कसरी निकाश पाउला ? उनै पाका र अनुभवी राजनीतिज्ञ राणासँग जनआस्थाका लागि राजकुमार रायले गरेको कुराकानीको सम्पादित अंश :
मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
देशको राजनीति एकदम तरल छ । भोलि के हुन्छ भन्न सकिने अवस्था छैन । किनकि हरेक दिन कुनै न कुनै रुपले नयाँ-नयाँ घटना घटिरहेका छन् । जेनजी र एमालेका कार्यकर्ता ठाउँ-ठाउँमा झडपमा उत्रिरहेको देखिन्छ । अस्ति भर्खरै बारामा त्यस्तो घटना हुन गयो । हरेक दिन एकातिर एमालेको प्रदर्शन हुन्छ, अर्कोतिर जेनजीको । यसले भिडन्तको अवस्था निम्त्याउने खतरा देखिरहेको छु ।
जेनजी युवाहरू जुन माग लिएर आन्दोलनमा उत्रिए । उनीहरूमा जुन उत्साह छ, त्योसँग म एकदम सहमत छु । भ्रष्टाचारविरुद्ध जुन किसिमको भावना युवाहरूमा प्रस्फुटन भयो, त्यो एकदम जायज छ । वास्तवमा देश भ्रष्टाचारबाट जर्जर भएको छ । यसको निकास दिनु आजको आवश्यकता हो । नेपालमा भ्रष्टाचार यस्तो रोग भएको छ कि यसलाई निको पार्न कोही अगाडि नआएपछि बाध्य भएर जेनजीहरू सडकमा ओर्लिएको अर्थमा मैले बुझेको छु ।
जेनजी आन्दोलनको समर्थन गरिरहँदा भदौ २४ को घटनालाई चैं कसरी विश्लेषण गर्नुहुन्छ ?
२४ गते जुन किसिमले विध्वंस मच्याइयो त्यो धेरै नै गम्भीर कुरा हो । त्यसप्रति मेरो विरोध छ । सिंहदरबार जल्यो । शीतल निवास जल्यो । सर्वोच्च जल्यो । चन्द्रशमशेरको पालामा निर्माण भएका सम्पदा नष्ट भए । राज्यका कति डकुमेन्टहरू खरानी बनाइयो । यो एकदमै दूर्भाग्यपूर्ण घटना हो । पहिला आगलागी भएर जलेको सिंहदरबार पुनःनिर्माण गर्न दश वर्ष लागेको थियो । यसपाली झन कति वर्ष लाग्ने हो । मलाई लाग्छ सिंहदरबार जल्दा हामी नेपालीलाई मात्र नभई जेनजी युवाहरुलाई पनि छोएको हुनुपर्छ । किनकि त्यो मुलुकको ठूलो सम्पदा हो । यत्रो सम्पदा नष्ट भयो ।
अहिलेको मुख्य प्रश्न चैं, आन्दोलनपछि नागरिकमा जुन अन्योलता देखिन्छ त्यसको निकाश के होला ?
दिन प्रतिदिन जसरी नयाँ नयाँ घटनाक्रमहरू आइरहेका छन् यसले कतै अर्को भिडन्तमा पुग्ने त होइन भन्ने देखिन्छ । यसले नागरिकमा डर र त्रास हुनु स्वभाविक हो । त्यसकारण शान्ति, सुरक्षालाई मजबुत बनाउँदै सरकारले चुनावको वातावरण बनाउन आँट गर्नुपर्ने अवस्था छ । शान्ति, सुरक्षा र जनतामा विश्वासको वातावरण बनेन भने चुनाव हुन सक्दैन ।
यस्तो अन्यौलपूर्ण अवस्थामा शान्ति, सुरक्षा स्थापना गर्न सरकार चुक्नुहुन्न भन्ने मेरो आग्रह छ । शान्ति, सुरक्षा भयो भने धेरै घाउ निको हुन्छ । यसतर्फ राज्यले ध्यान दिनुपर्छ । राजनीतिक दलहरूले पनि त्यसमा भूमिका खेल्नुपर्ने आवश्यकता छ । दण्डहीनता अन्त्य गर्न २४ गतेको विध्वंसमा संलग्न सबैलाई दण्ड पनि दिनुपर्छ ।
अहिले देशमा तीब्र ध्रुवीकरण भैरहेको छ । एकातिर राज्य सञ्चालन गरिसकेका पुराना पार्टीहरूको प्रभाव, अर्कोतिर नयाँ पुस्ताले पनि राजनीतिमा हस्तक्षेप गर्दैछ । यी दुई शक्ति कुनै न कुनै रुपमा आमने सामने भैरहेको देखिन्छ । यस्तो स्थितमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने कुरा कत्तिको चुनौतिपूर्ण देख्नुहुन्छ ?
शान्ति, सुरक्षा नभए कसैले पनि चुनाव गराउन सक्दैन र यो मुलुकमा स्थायित्व हुँदैन । त्यसकारण देशमा शान्ति, सुरक्षा र अमनचयन हुँदा नै सबैको भलो हुन्छ । यसमा सबै पक्ष जिम्मेवार हुनुपर्छ । शान्ति, सुरक्षा भयो भने चुनाव शान्तिपूर्ण हुन्छ । चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित भएमात्रै लोकतान्त्र बलियो हुने हो । किनकि जनता भनेको जनअदालत हो । जनताको चाहनाविपरीत कोही जान पनि सक्दैन । त्यसकारण शान्ति, सुरक्षामा सबैले जोड दिऔं, सबै पक्ष यसमा जिम्मेवार बनौं । चुनाव बाहेक म अर्को विकल्प देख्दिँन ।
तपाईं विगतका थुप्रै राजनीतिक परिवर्तनको साक्षी हुनुहुन्छ । विगत र वर्तमान स्थितिलाई तुलना गर्दा के पाउनुहुन्छ ?
२००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनपश्चात् शान्ति सुरक्षा स्थापना गरेरै प्रजातन्त्र टिक्यो । दश वर्षसम्म मुलुकमा स्थिरता हुन्छ कि हुँदैन भन्ने त थियो तर, स्थिरता सम्भव भयो । त्योभन्दा पहिलेको कुरा गर्ने हो भने जंगबहादुरको उदय हुनुअघि त्यत्रो मारकाट चल्यो । उनले मारकाट गरेरै स्थिरता कायम राखे । अहिले त मारकाट गर्ने अवस्था छैन । त्यसकारण हामी आशावादी छौं कि स्थिरता चाँडै हुन्छ । यो सबैको चाहना हो । म आशा गर्छु यो सरकारले सबै सुरक्षा संयन्त्रलाई प्रयोग गरेर सरोकारवालाको समेत सहयोगमा स्थिरता कायम गर्ने र चुनाव गराउने छ ।
तपाईंले शुरुदेखि नै चुनावमा विशेष जोड दिइरहनु भएको छ, फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
मलाई विश्वास छ । जनता हाम्रै हुन् । सबै पक्ष जिम्मेवार हुने हो भने तोकिएकै मितिमा चुनाव हुन्छ, गर्न सकिन्छ । चुनावको विकल्प छैन ।
गृहमन्त्रीले केही समयअघि सरकार असफल भयो भने सत्ता नेपाली सेनाको हालतमा जानसक्ने आसयको अभिव्यक्ति दिनुभएको थियो । यसप्रति तपाईंको धारणा के छ ?
गृहमन्त्रीज्यूले कुन प्रसंगमा यो कुरा ल्याउनुभयो भन्ने मलाई थाहा छैन, तर जनताको हातमा आउनुपर्ने शासन सत्ता फेरि सेनाको जान्छ भन्ने मलाई विश्वास लाग्दैन । मुलुक सञ्चालनको जिम्मा सरकारको हो, सेनाको होइन । सेनाले त्यस्तो चाहना राख्छजस्तो पनि मलाई लाग्दैन । अहिले नागरिक सरकार छ । यो सरकारलाई सहयोग गर्नुपर्छ ।
अहिले सेनाको भूमिकालाई लिएर पनि प्रश्न उठिरहेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खुलेरै असन्तुष्टि जनाएको बुझिन्छ । यसमा तपाईंको कुनै टिप्पणी छ ?
सेनाबारे म केही टिप्पणी गर्न चाहन्न । नागरिक सरकारले जे भन्यो, सेनाले त्यही मान्ने हो । सेना सरकारको अधिनमा छ । उसले नागरिक सरकारको अधिनमा रहेर काम गर्ने हो । सेनालाई देशमा स्थायित्व कायम गर्न सरकारले खटाउन सक्छ । तर, मैले सुनेअनुसार भदौ २४ गतेको दिन पनि सिंहदरबारमा सेनाको चार वटा रेजिमेन्ट रहेको थियो । त्यसैगरी, शीतल निवासमा प्रशस्तै सैनिक थिए । नहुने कुरै भएन । उनीहरू किन मुकदर्शक भएर बसे मैले बुझ्न सकेको छैन ।
तपाईं शान्ति, सुरक्षाको कुरा गर्दै गर्नुहुन्छ । तर, प्रधानमन्त्री र मन्त्रीहरूका सार्वजनिक अभिव्यक्तिप्रति एमाले नेताहरूको गुनासो सुनिन्छ । सरकार आन्दोलनकारीप्रति बढी उदार देखियो भन्नेहरू पनि छन् । यसले शान्ति, सुरक्षा कायम हुनेमा आशंका गर्ने ठाउँ दिंदैन र ?
यो सरकार आन्दोलनको जगबाट आएको हो । हामी सरकारलाई अण्डरएस्ट्रिमेड नगरौं । आ-आफ्नो जिम्मेवारी बुझैं । दायित्व पूरा गरौं । किनकि सरकारले मात्र शान्ति, सुरक्षा दिने होइन । हामी सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्ने हो । अर्को विकल्प पनि त छैन नि ।
सरकारसँग जेनजीहरू पनि सन्तुष्ट देखिंदैनन् । जेनजीका ३२ वटा समूहले सरकार फेर्ने माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइसके । कतिले आन्दोलन हाईज्याक भयो पनि भनिरहेका छन् । यो सबै घटनामा तपाईंको बुझाई के छ ?
मैले यतातिर धेरै सोचेको त छैन । तर, अहिलेको अवस्थामा कसलाई के आरोप लाग्छ, त्यतातिर लाग्नुहुँदैन । मेरो ८४ वर्षको अनुभवले के भन्छ भने देश अहिले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा छ । जेनजी पुस्ता उमेरका हिसाबले कान्छो पुस्ता हो तर हाम्रो भावना यौटै छ । हामी सबैले उनीहरूको भावनालाई बुझेर सहकार्यको वातावरण बनाउनुपर्छ। एकले अर्कालाई निषेध गरेर जानु हुँदैन । मुलुकले हामीबाट यही अपेक्षा गरेको छ । यसमा सरकार, पार्टीहरू र जेनजीहरू चुक्नुहुँदैन ।
एमाले अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनलाई विदेशी शक्तिको उक्साहटमा गरिएको षड्यन्त्रको संज्ञा दिनुभएको छ, यसमा सत्यता होला त ?
हामीले सोच्दा नेपालमा अस्थिरता हाम्रा कुनै पनि छिमेकीका लागि हितकर छैन । यसकारण नेपालमा अस्थिरता मच्याउने कुरामा हाम्रा कुनै छिमेकी लागेका छन् भन्नेमा म विश्वास गर्दिँन । अनावश्यक रुपमा कसैलाई यसरी तान्न मिल्दैन ।
तपाईंको आसय छिमेक भारत र चीनबाहेक अन्य मुलुकको संलग्नता हुनसक्छ भन्ने हो ?
लख काट्ने कुरा त छैन । तर, हाम्रा छिमेकीबाहेक त जहाँबाट पनि हुनसक्छ नि ।
जेनजी आन्दोलन भ्रष्टाचार अन्त्य र सुशासनको लागि थियो भनिन्छ, तर आन्दोलनपछि बनेको सरकारले पनि भ्रष्टाचार छानविनमा ठोस पहल गरेको देखिंदैन ?
तीन वटै ठूला दल भ्रष्टाचारमा लिप्त थिए । जेनजीको आक्रोश यी तीन वटैप्रति थियो । भ्रष्टाचार गर्नमा कोही पनि पछि थिएनन् । त्योविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि आएको थियो । हाम्रा अध्यक्षले संसद्मै यस्तरी नै भ्रष्टाचार बढ्दै गएमा हेलिकप्टर चढेर भाग्नुपर्छ भन्नुभएको थियो, जुन प्रमाणित भएको छ । सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न खुट्टा नकमाओस् ।
अलिकति तपाइँको पार्टीको पनि कुरा गरौँ, अहिलेको संवेदनशील राजनीतिक अवस्थामा राप्रपाको भूमिका किन कमजोर ?
प्रजातन्त्र, लोकतन्त्र, सुशासन, राष्ट्रिय स्वतन्त्रताजस्ता कुराका लागि यो पार्टी स्थापना गरिएको हो । र, यसका लागि हामी निरन्तर लागिरहेका छौं । हाम्रो केन्द्रीय समितिमा पनि युवा नेताहरू छन् । जेनजी पुस्तालाई हामीले प्रोत्साहन गरेका छौँ, अझै गर्छौँ । भ्रष्टाचारविरुद्ध पनि हामीले सशक्त आवाज उठाउँदै आएका छौं ।
तर, राप्रपाको एजेण्डा दुर्गा प्रसाईंले हाईज्याक गरिसके होइन र ?
दुर्गाजीसँग मेरो चिनजान छैन । एकपल्ट एउटा सार्वजनिक कार्यक्रमको सिलसिलामा भेटघाट भएको थियो । उहाँको बारेमा मलाई विशेष थाहा छैन । हामीले यो मुलुक हिन्दुराष्ट्र हुनुपर्छ । राष्ट्रिय स्वतन्त्रता हुनुपर्छ । हामी त राष्ट्र प्रमुखमा श्रीपेच लगाएको व्यक्ति हुनुपर्छ भन्ने हाम्रो घोषित एजेण्डा हो ।
नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने असम्भव सपना बाँडिरहनु भएको छ । त्यो कुरा स्वीकार्नु हुन्छ कि हुँदैन ?
सपना भन्ने कुरा यस्तो हो कि त्यो सम्भव नै हुनुपर्छ भन्ने छैन । सपना त बोक्न पाइन्छ नि । पूरा हुने नहुने छुट्टै कुरा हो । आदर्श बोक्न पाइन्छ । त्यसकारण यसलाई असम्भव भन्नु त्यति उचित छैन । सम्भव हुने नहुने अर्कै कुरा हो ।
राप्रपामा आन्तरिक किचलो छ । आफैँ मिल्न नसक्ने तपाईंहरूले राष्ट्रिय एजेण्डा पूरा गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?
धेरैचोटि यो पार्टीले विभाजन भोग्नुपरेको छ । विवाद मिलाउने काममा म सधैं लागेको छ । आज पनि लागेको छु । आशा छ राप्रपाभित्र त मिल्नु छँदैछ । हाम्रो साझा विचार राख्ने सबैलाई पनि मिलाउन खोजिराखेको छु ।
टिप्पणीहरू