कर्मचारी भर्ना प्रक्रिया अन्यौलमा

कर्मचारी भर्ना प्रक्रिया अन्यौलमा

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पाँच महिना पहिला खोलेको कर्मचारी विज्ञापनमा हालसम्म भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । कर्मचारी छनौटका लागि आवेदन दिएकाहरुले नगरपालिकाले महिनौसम्म आफूहरुलाई अन्यौल बनाएको गुनासो गरेका छन् । 

नगरपालिकाले सूचना प्रविधि अधिकृत र रोजगार सहायक पदको लागि खोलेको विज्ञापनमा निवेदन संकलन गरेपश्चात हालसम्म कुनै पनि सूचना नदिएको आवेदकहरुले जनाएका छन् । गत असार ३० गते रोजगार सहायक र साउन ११ गते सूचना प्रविधि अधिकृत भर्नाको लागि १५ दिने सूचना प्रकाशित गरिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिए । उनेले नगरकार्यपालिकामा तत्कालिन अवस्थामा भएको बेमेल, निर्वाचन आचारसंहिता लगायतका कारण कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढेको बताए । तत्काल पदपूर्ति समितिको बैठक बसेर आवश्यक निर्णय गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जनाएकाछन् ।   

यस बिषयमा मुसीकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले कार्यपालिकामा सहमति गरेर भर्ना प्रक्रिया अगाडि बढाउने बताएका छन् । कार्यपालिकामा अल्पमत र बहुमतको दलिय आस्थाका कारण तत्कालिन अवस्थामा बेमेल बढेको थियो । यसका साथै प्रमुख प्रकाशकीय अधिकृत नयाँ ल्याउने बिषयमा समेत कार्यपालिकामा विवाद बढेको थियो । नगरप्रमुख केसीले विवादका बिषयहरु समाधान गरेर रिक्त रहेको पदको लागि खोलिएको विज्ञापनको भर्ना प्रक्रिया अगाडि बढाउने उल्लेख गरे । 

नगरपालिकाका अनुसार रोजगार सहायक पदको लागी ५६ जना र सूचना प्रविधि अधिकृतमा ६ जनाको दरखास्त परेको छ । परिक्षाको तयारी गरिरहेका आवेदकहरुले भने जनप्रतिनिधिहरुको दलिय आस्थाको लडाईको कारण आफूहरुले लामो समयसम्म छनौट प्रक्रियामा ढिलाईको मार खेप्नुपरेको जनाएका छन् । रिक्त रहेको दरबन्दीमा कर्मचारी भर्ना हुन नसक्दा प्रशासनिक र बिषयगत काममा कठिनाई भएको समेत जनाईएको छ । 
 

टिप्पणीहरू