भृकुटीमण्डपमा ‘रकेट उडान’
नेकपा (एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको उम्मेद्वारी पाउने नेता धेरै छन् । तिनैमध्ये ललिपुरकी सन्तना दाहालको छलाङले यतिबेला जिल्लामा सामान्य तरंग त ल्याएको छ नै, बन्दसत्रस्थलमा प्रतिनिधिमाझ चर्चाको पात्रसमेत बनेकी छन् ।
जिल्लामा पुराना र सक्षम नेताहरु हुँदाहुँदै अध्यक्ष केपी शर्मा ओलीको चाहनाबमोजिम मनोनित महाधिवेशन प्रतिनिधि बनेकी उनको नाम केन्द्रीय सदस्यको उम्मेद्वारी सूचीमा देखिएपछि भृकुटीमण्डपमा ‘रकेट उडान’ भन्दै चर्चा भएको छ । हाल जिल्ला सदस्य रहेकी उनलाई गुण्डुमा लगेर अध्यक्ष ओलीसँग भेटाइदिनेदेखि केन्द्रीय सदस्यको उम्मेद्वार बनाउनेसम्मको काम महेश बस्नेतले गरेको बताइन्छ । अहिले भृकुटीमण्डपमा उनलाई कतिपयले महेश बस्नेतकी ‘छोटी बहन’ समेत भन्न थालेका छन् ।
त्यसो त, अध्यक्ष ओलीले यसरी ‘बा’ भन्ने चेलीहरुलाई खुशी पार्न सक्षम र राम्रा नेताहरुलाई पाखा लगाएको घटना याे नौलो होइन । ओखलढुंगामा सबै ईश्वर पोखरेल समूहका महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि बिहेको निम्तो दिने बहानामा गुण्डु पुगेकी अस्मिता थापाले धर्ना कसेपश्चात ओलीले दोस्रो पटक निर्वाचन गराउन निर्देशन दिएकाे घटना ताजै छ । उनै अस्मिता समेत अहिले ओली प्यानलबाट केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी छन् ।
टिप्पणीहरू