सहकारीमा सँधै समस्या, सर्वसाधारणको बिचल्ली
झण्डै तीन दशकअघि नेपाल सरकारले ‘घरघरमा सहकारी, भरियो भकारी’ नारासहित सहकारी खोल्ने अभियान चलायो । सर्वसाधारणले आफ्नो कमाइको केही अंश बचत गर्छन् र आवश्यक परेको बेलामा गर्जो टार्न सक्छन् भन्ने उद्देश्यले सहकारी संस्था खोल्न इजाजत दिइएको थियो ।
सहकारी संस्थाहरुमाथि नियमन गर्न सहकारी विभागको समेत स्थापना गरिएको छ । तर, पछिल्लो समय सहकारीले नै बचतकर्तालाई बिचल्लीमा पारेका समाचार नियमित सुन्न देख्न थालिएको छ । सहकारी संस्थाका हर्ताकर्ताले रकम जम्मा पारेर कुलेलम ठोकेको समाचारहरु निरन्तरझैँ बाहिर आइरहेका छन् ।
यस्तो विषयमा सहकारी विभागमा मौखिक र लिखित उजुरी दिनेको प्रायः लाइन लाग्ने गरेको छ । सहकारी संस्थाको अर्बौं रकम ठगीमा बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गका दम्पती नै जेलमा छन् । त्यस्तै, गत मंसिर १८ गते काठमाडौंको जोरपाटीस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाका अगुवाहरु पनि बचतकर्ताको करोडौं रकम लिएर भागेका छन् ।
त्यसको दुई महिनाअघि असोज १८ गते सबै बचतकर्ताको रकम फिर्ता गर्ने दाबी गरेको उक्त सहकारीले बचतकर्ताको बिचल्ली बनाएको छ । कुलेश्वरमा रहेको गौतम श्री वहुउद्देश्यीय सहकारी संस्थाले पनि हजारौं बचतकर्ताको उठिबास लगाएको छ ।
काभ्रेपलाञ्चोक निवासी रामबहादुर गौतम अध्यक्ष रहेको उक्त सहकारीमा एक जना बचतकर्ताको ७५ लाख रुपैयाँसम्म रहेको बताइएको छ । जथाभावी लगानी गर्दा सहकारीहरु जोखिममा परेको विज्ञहरुको बुझाइ छ । सहकारी डुब्नुको प्रमुख कारण घरजग्गामा गरिएको लगानीलाई ठानिएको छ । यो समस्या उपत्यकामा मात्र नभई मुलुकभरका सहकारीमा देखिएको छ ।
उपत्यका बाहिरका धेरै सहकारीका बचतकर्ताहरु पनि सडकमा ओर्लिएका छन् । विभागकाअनुसार मुलुकभर ३५ हजारभन्दा धेरै सहकारी संस्था दर्ता छन् । काठमाडौं महानगरपालिकाभित्र मात्रै एक हजार नौ सयभन्दा धेरै सञ्चालनमा छन् ।
सञ्चालनमा रहेकामध्ये अधिकांश संस्था समस्याग्रस्त देखिन थालेका छन् । कतिपय भागिसकेका छन् भने कतिपय भाग्ने अवस्थामा रहेको बताइन्छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सहकारी अनुगमनका लागि समितिसमेत गठन गरेको जानकारी दिएका छन् ।
साथै, महानगरले लामो समयसम्म सहकारीमा रकम जम्मा नगर्न अनुरोधसमेत गरेको छ । अनगुमन समिति गठन भए पनि अहिलेसम्म काम अघि बढाइएको छैन । महानगरका प्रवक्ता नवीन मानन्धरले नगरभित्रका अधिकांश सहकारीमा समस्या देखिएको स्वीकारेका छन् ।
महानगरमा परेको उजुरीको बढ्दो संख्यालाई ध्यानमा राख्दै समिति बनाइए पनि त्यसले काम गर्न नसकेको उनले उल्लेख गरे । पछिल्लो समय महानगरले कर्मचारी खटाएर सहकारी अनुगमन गर्ने गरेको दाबी गरेका छन् । उनका अनुसार पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर सहकारीमा परेको हो ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आफ्नो नगर क्षेत्रका सहकारीमा खासै समस्या नदेखिएको दाबी गरिन् । उनले भनिन्, ‘हुन त पछिल्लो समय सहकारी भागेका छन् । तर ललितपुर महानगरभित्र दर्ता भएका सहकारीहरु भागेको उजुरी अहिलेसम्म परेको छैन ।’
महानगरको सहकारी विभागले दिनहुँ सहकारी अनुगमन गरिरहेको उनी बताउँछिन् । ‘ललितपुरमा दुई हजारभन्दा बढी सहकारी संस्था दर्ता छन् । हामीले पहिल्यैदेखि अनुगमन गरेकाले त्यति धेरै समस्या देखिएको छैन’, उनले सुनाइन् ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पनि कर्मचारी खटाएर लगातार अनुगमन गरिरहेको जानकारी गराइन् । हालसम्म बहुउद्देश्यीय सहकारी संस्थाका लागि स्थानीय र प्रदेश सरकारबीच समन्वय नभएकाले समस्या देखिएको उनको भनाइ छ । बहुउद्देश्यीय सहकारीहरु नगरपालिकाको स्वीकृतिबिना सञ्चालनमा रहेकाले त्यस्ता सहकारीमा समस्या देखिए पनि हामी केही गर्न सक्दैनौँ’, उनले भनिन् ।
बचत तथा ऋण सहकारीहरु स्थानीय सरकारमा र बहुउद्देश्यीय सहकारी संस्थाहरु प्रदेश सरकारमा दर्ता हुने प्रावधान रहेको बताइन् । उनकाअनुसार बचत तथा ऋण सहकारीमा भन्दा बहुउद्देश्यीय संस्थामा बढी समस्या देखिएको छ ।
भक्तपुर नगरपालिका क्षेत्रमा रहेका कुल सहकारी संख्या १५६ छ । नगरको सहकारी विभागमा बहुउद्देश्यीय सहकारीहरु भागेर बिचल्लीमा परेको भन्दै बचतकर्ताहरु आउने क्रम बढेको उनको अनुभव छ ।
सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार केही समययता उजुरी लिएर आउनेको संख्या ह्वात्तै बढेको छ । २५ जनाभन्दा बढी बचतकर्ताले लिखित रुपमा उजुर गरेमा मात्र विभागले त्यस्ता सहकारीमाथि कारबाही गर्न मिल्ने प्रावधान रहेको उपाध्यायले बताए ।
मुलुकको समग्र वित्तीय प्रणालीमा परेको असर सहकारीमा प्रत्यक्ष परेको र सहकारीले पनि सीमित क्षेत्र, घरजग्गालगायत जोखिमपूर्ण क्षेत्रमा लगानी गर्दा अहिले समस्या निम्तिएको उनको निचोड छ ।कोरोना महामारीका कारण मुलुकका औद्योगिक क्षेत्रहरु चलायमान हुन नसकेपछि सहकारीहरु पनि थला पर्न थालेको उनको भनाइ छ । ‘अर्थतन्त्रमा समेत यसको प्रभाव पर्यो । कोरोनाकालमै सहकारीमा धेरथोर समस्या देखिन थालिसकेको थियो । सहकारीका सञ्चालकहरु आफ्नो जिम्मेवारीबाट अलग्गिँदै जाँदा समस्याग्रस्त स्थितिमा पुगेका हुन्’, सूचना अधिकारी उपाध्यायले सुनाए ।
बजारमा सहकारी संस्थाहरु बचतकर्ताको रकम फिर्ता नगरी भाग्न थालेपछि विभागले अनुगमन गर्ने कार्यलाई तीव्रता दिएको उनको दाबी छ । सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउन विभागले सञ्चालकलाई तालिमको व्यवस्थासमेत गरेको बताइन्छ । तर समस्या न्यूनीकरण गर्न स्वयम् सहकारी सञ्चालकहरु जिम्मेवार हुनुको विकल्प नभएको बताइन्छ ।
टिप्पणीहरू