पेपरलेस डिजिटल प्रणालीमा पाकिस्तानी सहयाेग
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले भरतपुर नेत्र अस्पताललाई पेपरलेस डिजिटल प्रणालीमा रूपान्तरण गर्न पाकिस्तानी जनताको तर्फबाट सहयोग उपलब्ध गराउनुभएको छ । उक्त आर्थिक सहयोगले अस्पतालमा इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली लागू गर्न, तथा प्रशासनिक र क्लिनिकल प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउन मद्दत पुर्याउने उद्देश्य राखिएको छ ।
राजदूत हाश्मीले सन् १९८७ मा पाकिस्तानको बीसीसीआई फाउन्डेशनको सहयोगमा स्थापना भएको भरतपुर नेत्र अस्पतालसँग पाकिस्तानको लामो सहकार्य इतिहास रहेको उल्लेख गर्नुभयो । पछिल्ला वर्षहरूमा पाकिस्तानी दूतावासले फार्मेसी, अपरेससन थियटर, आउटरिच एम्बुलेन्स तथा आँखा उपचार र स्वास्थ्य सहकार्यका क्षेत्रमा सहयोग आदानप्रदान गर्दै आएको छ ।
स्वास्थ्य क्षेत्रको सहकार्य पाकिस्तान–नेपाल सम्बन्धको महत्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै उहाँले दुवै देशले जनता केन्द्रित विकास तथा क्षेत्रीय समृद्धितर्फ साझा प्रतिबद्धता जनाएकोमा खुशी व्यक्त गर्नुभयो । आँखा अस्पताल व्यवस्थापन बोर्डका अध्यक्ष जयराम श्रेष्ठ र प्रमुख मेडिकल अधिकृत डा. पुष्पा गिरीले नेपालका स्वास्थ्य सेवाको आधुनिकिकरणमा निरन्तर सहयोग गरेकोमा पाकिस्तान सरकार र जनताप्रति आभार व्यक्त गरेको पाकिस्तानी दूतावासले जनाएको ।
भरतपुर गार्डेन होटलमा आयोजना अयाोजित समारोहमा अस्पतालका प्रध्यापक तथा व्यवस्थापक, जिल्ला प्रशासन, स्थानीय व्यवसायी तथा पाकिस्तानी शिक्षण संस्थाका नेपाल भ्रमण गरेका पूर्व–विद्यार्थीहरूको उपस्थिति थियो । राजदूत चितवनस्थित मेडिकल साइन्सेज कलेज पुगेर त्यहाँका प्राध्यापक तथा विद्यार्थीहरूसँगको अन्तक्र्रियामा सहभागी हुनुभयो ।
त्यसअघि उहाँ लुम्बिनी भ्रमणमा जानुभएको थियो । राजदूत हाश्मीले भगवान बुद्धको जन्मस्थलमा पुगेपछि सम्मान व्यक्त गर्दै लुम्बिनी विकास कोषका अधिकारीहरू र लुम्बिनी नगरपालिकाका कार्यवाहक मेयरसँग भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा पाकिस्तान–नेपालबीचको सांस्कृतिक, धार्मिक सम्पदा तथा नागरिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
टिप्पणीहरू