हिउँदमा बनेपा झन् दुर्गन्धित
काभ्रेपलान्चोकको बनेपा नगरपालिका क्षेत्रमा यो वर्ष पनि हिउँद लाग्ने बितिक्कै दुर्गन्ध फैलिएको छ । स्थानीय चण्डेश्वरी खोलामा फोहोर फाल्नाले चण्डेश्वरीको मुहार नै कुरूप भएको छ भने नजिकैका बस्ती दुर्गन्धित भएको छ ।
स्थानीय बासिन्दा र भाडामा बसेका व्यापारीहरूले खुलेआम खोलामा फोहोर फालेपछि विशेषगरी हिउँदमा दुर्गन्ध फैलिएको हो । वर्षौंदेखि स्थानीयले खोलामा फोहोर फाल्दै आएका छन् । त्यसैगरी नजिकैका घरमा भाडामा बस्नेहरूले पनि घरधनीलेझैँ फोहोर फालेपछि चण्डेश्वरी क्षेत्र दुर्गन्धित भएको हो ।
‘नाम चाँहि चण्डेश्वरी छ, तर फोहोरले दुर्गन्धित बनाइसके । यसतर्फ न जनप्रतिनिधिले वास्ता गर्छन्, न सर्वसाधारणले फोहोर फाल्न छाडेका छन्,’ बनेपा नगरपालिका ६ निवासी नविता केसीले गुनासो गरिन् ।
‘मैले त आज पो थाहा पाएँ फेसबुकमा फोटो आएको रहेछ । अब हामी सुधार गर्छौं,’ नगर प्रमुख शान्ति रत्न शाख्यले जनआस्थासँग हाँस्दै भने, ‘उक्त खोला बनेपा नगरपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्छ । त्यहाँको वडा अध्यक्षलाई पनि सुधारको लागि भन्छु ।’
जल प्रदुषण हटाउन अथक प्रयास गरेको उनको दाबी छ । तरकारी बजार छेउमा भएको कारण खोला प्रदुषित भएको उनको ठहर छ । फोहोर नफाल्न अनुरोध गरेपनि कसैले नटेरेको मेयरको तीतो अनुभव छ । ‘रातको समयमा बाइकमा ल्याएर घरको फोहोर फाल्ने गर्छन् । हामीले नगरपालिकामा गुनासो राखेका छौं । अब सुधार हुन्छ कि १,’ वडा नम्बर ६ का वडाध्यक्ष रचिता नन्द के.सीले भने ।
महिनाको एक सय रुपैयाँ तिर्न आनाकानी गर्ने स्थानीयका कारण खोला प्रदुषित भएको धेरैको बुझाइ छ । रातको समयमा बाइकमा ल्याएर खोलामा फोहोर फ्याँक्ने प्रवृत्ति अहिले बनेपामा सामान्य भएको छ ।
नगरपालिकाले फोहोर ढिलो उठाएको कारण स्थानीयले खोलामा फोहोर फालेको भन्नेहरु पनि छन् । खोलामा फोहोर फाल्नेलाई वडाबाट सबै सिफारिस रोकिदिनुपर्ने भन्दै वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले आक्रोश पोखे ।
टिप्पणीहरू