मलेसियाका गृहमन्त्रीको दुई घण्टा ढिलो आगमन

मलेसियाका गृहमन्त्रीको  दुई घण्टा ढिलो आगमन

मलेसियाका गृहमन्त्री तोकिएको समयभन्दा दुई घण्टा ढिलो काठमाडौं आइपुगेका छन् ।  गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल सवार विमान भर्खरै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

नेपालको तीन दिने भ्रमणमा आएका मन्त्री इस्माइल सवार चार्टर विमान साँझ ७ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने बताइएको थियो । 

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले भोलि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

उनले मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे नेपाली अधिकारीसँग छलफल गर्ने जानकारी दिइएको छ । मन्त्री इस्माइलले गृह मन्त्रालयकोसमेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम छ । 

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका उनी पर्सि शनिबार स्वदेश फर्कने कार्यक्रम छ । टोलीमा मन्त्रीका सल्लाहकार सैयद महादी बिन सैयद हसनका साथै अनौर बिन अहमद, श्रीमती नोरजाइटी बिन्ति ओथमान र नाविहा अइमी बिन्ति अनौर छन् ।

टिप्पणीहरू