आज पनि हेल्मेटमा लुकाइएको आठ लाख फेला

आज पनि हेल्मेटमा लुकाइएको आठ लाख फेला

भारतबाट हेल्मेटमा लुकाएर ल्याइएको लाखौँ रुपैयाँ नेपाल–भारत सीमामा समातिएको छ । उक्त रकम नेपाल भित्र्याउन लागेको अभियोगमा वीरगञ्जका एक युवा पक्राउ परेका छन् ।  

वीरगञ्ज महानगरपालिका–१६, इनर्वागाउँका २५ वर्षीय ओमकुमार साहलाई प्रहरीले अवैध रकमसहित आज पक्रेको हो । हेल्मेटमा लुकाएर आठ लाख २० हजार रुपैयाँ रक्सौलबाट वीरगञ्जतर्फ ल्याउने क्रममा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो । 

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३५ प ८४३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनले लगाएको हेल्मेटबाट स्रोत नखुलेको नगद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

हिजो पनि वीरगञ्जमा सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको थियो । वीरगञ्ज महानगरपालिका १६, इनरुवा बस्ने २५ वर्षीय रामप्रवेश कुमारलाई भारतबाट नेपालतर्फ आँउदै गरेको बीआर ०५एभी ३४७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनले लगाएको हेल्मेटबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ फेला परेको थियो । फेला परेका रकममध्ये एक हजार दरका ७५० थान र एक सय दरका ५०० थान नेपाली नोट हुन् । बरामद रकम, मोटरसाइकल र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको थियो ।

त्यसैगरी माघ २६ गते मोटरसाइकलको हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा १८ लाख नेपाली रुपैयाँ वीरगञ्जमा फेला परेको थियो । त्यतिबेला सशस्त्र प्रहरीले मोटरसाइकल, हेल्मेट र उक्त रकमसहित दुई जना भारतीयलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुमा भारत घर बताउने २६ वर्षका राकेश कुमार र २७ वर्षका प्रसंजित कुमार रहेको सशस्त्र प्रहरी बल नेपालको नम्बर १३ गण, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताए ।

भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र नौ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र नौ लाख नेपाली रुपैयाँ राखिएको थियो ।

टिप्पणीहरू