काठमाडौं–हेटौंडा चल्ने सुमोमा बढी भाडा असुल्ने पक्राउ
काठमाडौं–हेटौंडा चल्ने सुमोमा तोकिएकोभन्दा बढी भाडा असुल्नेहरु पक्राउ परेका छन् । ट्राफिक प्रहरीले आज बिहान बल्खुबाट त्यस्ता पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौंबाट हेटौंडा र वीरगञ्जसम्म चल्ने सुमोमा उनीहरुले बढी भाडा लिइरहेको अवस्थामा ट्राफिकले रंगेहात पक्रेको हो । बल्खुस्थित सुमोका काउन्टरहरुमा कार्यरत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, काठमाडौं चन्द्रागिरी नगरपालिका ९ का ३६ वर्षे सुनिल नगरकोटी, बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
पक्राउ गरिएका सबैलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी लगिएको छ । सरकारले तोकेकोभन्दा बढी भाडा असुलेको गुनासो सुनिएपछि आज बिहान सादा पोशाकमा ट्राफिक खटिएका हुन् ।
टिप्पणीहरू