अब पनि एआइजी नबनी सोझै आइजीपी

अब पनि एआइजी नबनी सोझै आइजीपी

गत वर्ष प्रहरी महानिरीक्षक बनेका धिरजप्रताप सिंहको कार्यकाल अब २० दिन बाँकी छ । आगामी चैत १० गतेदेखि उनले विद्यमान नियमावलीअनुसार अवकाश पाउँदै छन् ।

सिंहसँगै तीन जना अतिरिक्त प्रहरी महानिरीक्षकले पनि सोही दिनदेखि अवकाश पाउने भएपछि हालका डिआइजीहरुमध्येबाट आइजीपी नियुक्त हुने अवस्था छ । प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिका कारण ती सबैले एकैदिन अवकाश पाउन लागेका हुन् । पाँच एआइजीको पद लामो समयदेखि रिक्त छ ।

तर यसबीचमा हुन लागेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ दलको सहभागिताको सन्दर्भलाई समेत ३० वर्षे प्रावधानसँग जोडेर हेर्न थालिएको छ । प्रहरी सेवा नियमावलीमा रहेको उक्त प्रावधानलाई तत्काल निलम्बन गरेर सेवा अवधि थप्ने चर्चाले समेत महत्व पाउन थालेको बताइन्छ ।

तीस वर्षे सेवा अवधि हटाइएको अवस्थामा स्वयम् महानिरीक्षक सिंहसँगै तीनै जना एआइजी र यथावत रहे झण्डै डेढ दर्जन डिआइजी आइजीपीको दौडमा लाग्ने स्वतः देखिन्छ । तीमध्ये डीआइजीमा वरिष्ठताको आधारमा वसन्तबहादुर कुँवर,टेकप्रसाद राई,सन्दिप भण्डारी, श्याम ज्ञवाली,किरण बज्राचार्य,मीरा चौधरी,दिपक थापा र भीम ढकाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

यसअघि डिआइजीमध्येबाट आइजीपी बनाईंदा क्रमशः नवराज सिलवाल र विश्वराज पोखरेलले सर्वोच्च अदालत गुहारेका थिए । प्रहरीका उच्च अधिकारीहरुले विनियमावलीबाट ३० वर्षे सेवाको प्रावधान हटाउने प्रयास गरे पनि सर्वोच्च अदालतले यसअघि नै उक्त व्यवस्था सम्बन्धित ऐन संशोधनबाट मात्र गर्न सकिने आदेश दिएको थियो ।
 

टिप्पणीहरू