कर्मचारी नेताले यस्तरी उठाउँदा रहेछन् करोडौं

कर्मचारी नेताले यस्तरी उठाउँदा रहेछन् करोडौं

सामान्य अधिकृतस्तरका कर्मचारीको आम्दानी कति हुन्छ ? अहिलेको तलबमानअनुसार अफिसरले सुख्खा तलबमात्र थाप्दा हातमा पर्ने ४३, ६६८ मात्र हो । इमान्दार अफिसरहरू भन्छन्– यो तलबले काठमाडौंमा जीवन धान्नै धौधौ पर्छ तर एक जना सोही तहका कर्मचारीले पछिल्लो पाँच बर्षमा करोडौं सम्पत्तिमात्र जोडेका छैनन् । चुनावताका बालकोट पुगेर पार्टीलाई २० औं लाख सहयोग गरेका छन् । कहाँ र कुन स्रोतबाट आर्जन हुन्छ होला यस्तो धन ? 

पुण्य ढकालहरूलाई बालकोट दरबारको गेट बन्द हुँदा पनि केदार देवकोटाहरू केपी ओलीका प्रिय पात्र थिए । अहिले अर्थ मन्त्रालयमा छन् देवकोटा । ०७३ सालयता पाँच वर्षसम्म नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष चलाए । पाँच बर्षको अवधिमा सिन्धुली र काठमाडौँमा एकै पटक बंगला ठडाउन सफल पनि भए । देवकोटा निकटस्थहरूले जनआस्थालाई जनाएअनुसार एउटा घर सिन्धुली गोलनजोर गाउँपालिका र अर्काे बंगला छ, भक्तपुरको लोकन्थलीमा । लोकन्थलीको चार आना जग्गामा साढे तीन तलाको घर देख्न पाइन्छ । यही अवधिमा छोरालाई डाक्टर र छोरीलाई इञ्जिनियर पठाएका छन्, प्राइभेट कलेजमा । डाक्टर र इञ्जिनियर पढाउन मात्र एक करोड घटी खर्चमा सम्भव हुँदैन । छोरीको विवाहमा गठ्ठाघरस्थित जर्मन होम्स पार्टी प्यालेसमा झण्डै २७ लाख खर्च गरेर भोज खुवाएका एमाले निकटकै कर्मचारीहरू सुनाउँछन् । लोकन्थलीमा जग्गा खरिद र घर निर्माण गर्दा झण्डै ५ करोड हाराहारी खर्च भएको बताइन्छ । मासिक ४४ हजार हाराहारी तलबकै भरमा यो सम्भव हुने कुरा होइन । उसो हो भने कुन स्रोतबाट आयो त पैसा ? 

अघिल्लो वर्ष एमालेनिकट कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन सम्पन्न भयो भनियो । अधिवेशन भनिए पनि ‘टिके’ नियुक्ति थियो त्यो । बालकोटले लेखनाथ कोइरालाको नेतृत्वमा टिका लगाएर नयाँ कार्यसमिति चुन्यो । सोही समयमा केदारले संगठनका पदाधिकारी पद लिलाम बढाबढ गरी द्रव्य संकलन गरेको चर्चा अहिले संगठनकै पदाधिकारीहरूले गर्न थालेका छन् । तत्कालीन केन्द्रीय सदस्य तथा हालका सचिव देवेन्द्र ढकाल समूहबाट २५ लाख, राजश्व र भन्सार ग्रुपबाट २५ लाख, सामान्य प्रशासनका रैथाने सुब्बा रामचन्द्र अधिकारीको ग्रुपबाट ५० लाख उठाइएको स्रोतको दावा छ । १५१ सदस्यीय कमिटीमा आबद्धमध्ये केन्द्रीय सदस्य बनाइएका कतिपयसँग केदारले लोकन्थलीमा घर बनाउँदा ऋण लिएको र उनीहरूको ऋृण मिनाहा गरी केन्द्रीय पदाधिकारी पद साटिएको चर्चा पनि संगठनभित्र छ । नेपाल निजामती कर्मचारी संगठनले सिंहदरबारको मुखैमा ७ करोड खर्चेर भवन निर्माण गरेको छ । सो भवनमा भएको अनियमिततामा समेत केदारहरूको संग्लनता रहेको आरोप लाग्दै आएको छ । गत निर्वाचनमा उनै देवकोटाले एमाले पार्टीका लागि चुनाव खर्च भन्दै २० लाख रकम बालकोटमा लगेर बुझाएका थिए । 

देवकोटा ०७५ पछि कर्मचारी समायोजन हुँदा स्थानीय तह (सिन्धुपाल्चोकको बलेफी गाउँपालिका)मा परेका थिए । उनीझैँ माओवादीनिकट कर्मचारी संगठनका अध्यक्ष हरि रावल, आधिकारिक टे«ड युनियनका उपाध्यक्ष भोला पोखरेल, निजामती कर्मचारी संगठनका तत्कालीन उपमहासचिव टेकनाथ न्यौपानेहरू स्थानीय तहमा परे । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा तोकिएका भोलाले केन्द्र फर्कने व्यवस्था मिलाए । केदारले आफू सवार बा २ ब ३९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएको कागजपत्र बनाए । उनले झैँ टाठाबाठा धेरै कर्मचारीले आफू गम्भीर मानसिक रोगी भएको भन्दै किर्ते कागजात बनाएर संघमै फर्कन सफल पनि भएका थिए । 
 

टिप्पणीहरू