नवनियुक्त मन्त्रीको शीतल निवासमा शपथ
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सत्ता गठबन्धनमा आवद्ध १० दलबाट ११ जना मन्त्रीले शपथ खाएका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति थियो ।
आज शपथ लिनेहरुमा नेपाली काँग्रेसका चार, एकीकृत समाजवादीका दुई, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीबाट एक–एक जना छन् ।
काँग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्रीको शपथ लिए । त्यस्तै, एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ खाए ।
शपथ लिने अरु मन्त्रीहरुमा माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, नेसपाका महिन्द्र राययादव महिला बालबालिका र नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था छन् ।
यसअघि भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ उपप्रधानमा यथावत रहँदै गृहमन्त्री बनेका छन् ।
टिप्पणीहरू