११ औं महाधिवेशनमा पाँचौंकाे चर्चा
घर–घरमा मात्र होइन, दल–दलमा र देशकै नेतृत्वप्रति वितृष्णा बढ्दो छ । यो अवस्था नेपालमा मात्र होइन, संसारभर देखिन्छ । महाशक्ति राष्ट्र अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नीतिभन्दा बढी व्यक्तिगत सनकका निर्णयका कारण विवादित बन्दै आएका छन् । आदेश जारी गर्ने र हप्तादिनमै फिर्ता लिनुपर्ने निर्णयको आखिर के अर्थ ?
उदीयमान शक्तिराष्ट्रहरू हाम्रा छिमेकी भारत र चीनमा पनि दलभित्र नेतृत्वप्रति एकमनाको समर्थन छैन । यद्यपि ती असन्तुष्टिहरू सतहमा वा समाचारमा छरपस्ट देखिएका छैनन् । अरू देशका टीकाटिप्पणी कति गर्नु ? आफ्नै देशका नेतृत्वकर्ता पनि आलोचनामुक्त छैनन् । विधि र थिति थाँती राखेर आफ्ना मनोहत्थ हाबी गराउने प्रवृत्ति अझै घट्न सकेको छैन ।
राणा, राजा मात्र होइन, बहुदलीय शासन सुरु भएयताका सरकारका नेतृत्वकर्तामा पनि अपवादबाहेक ‘आफैँ बोक्सी, आफैँ झाँक्री’ बन्ने प्रवृत्ति जीवित छ । पछिल्लो दशकमा प्रचण्ड, देउवा र ओली स्वयं सरकारको नेतृत्वमा रहे वा त्यसमा प्रभाव जमाइरहे । तर सत्ताबाहिर रहँदा भने उनीहरू सरकारलाई ‘आयातित’ भन्न पछि परेनन् । राम्रा कामको जस लिन होडबाजी चल्यो, तर कमजोरी र त्रुटिप्रति सबै मौन रहे । त्यसो भए असली बोक्सी को ? कि आफैँ बोक्सी, आफैँ झाँक्री ?
भ्रष्टाचार र सुशासनका नाममा भएको भनिएको युवा विद्रोहपछि बनेको वर्तमान सरकारको कामकारबाहीप्रति अहिले अधिकांश समर्थक युवाहरू नै आलोचक बन्न थालेका छन् । अरूका कामको आलोचना गर्न सजिलो हुन्छ, तर आफैँले विधि र थिति पालन गर्न कठिन । विद्रोहको मर्म र जनम्यान्डेटलाई वर्तमान सरकारको कार्यशैली र कार्यप्रगतिले सम्बोधन गर्न सकेको छ त ?
तथ्यले नै पुष्टि गर्छन्—रामेश्वर खनालजस्ता उर्जाशील मन्त्री पनि कार्यप्रगतिप्रति सन्तुष्ट देखिँदैनन् । पाल्पाको तानसेन–ध्रुवघाटमा जन्मिएका, विगतमा अर्थसचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका खनाल, युवा विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बने । सुधारका संकेत देखिए, तर अपेक्षित प्रगति देखिएन भन्नु पूर्वाग्रह ठहर्दैन ।
व्यक्तिगत वैचारिक आस्थाका आधारमा होइन, आवश्यकताका आधारमा—विधि र थितिलाई बल पुग्ने गरी—खनालले विगतमा काम गरेका थिए भन्ने कुरा उनका सहपाठी, रम्भा गाउँपालिका ताहुँका कालीदास श्रेष्ठ सम्झन्छन् । खनालकै पहलमा निर्माण भएको तानसेन गैरागाउँ–ध्रुवघाट सडक पछिल्ला वर्षमा जीर्ण हुँदा तानसेन नगरपालिका र सडकमै कार्यालय रहेको सडक डिभिजन कार्यालय रमिते बनेका छन् । दिनहुँ सोही बाटो हिँड्ने सवारी चालक, बिरामी र सर्वसाधारणले सरापे पनि सुधार भएन ।
संक्षेपमा भन्नुपर्दा, प्रधान न्यायाधीश हुँदा कार्यसम्पादनकै कारण जनमन जितेकी सुशीला कार्की नेतृत्वमा सरकार बन्दा समर्थन गर्ने युवा समूह—मिराज ढुंगानालगायत—आज आलोचक किन बने ? भावनामा बहकिएर सुदन गुरुङलाई ‘जेठो छोरा’ घोषणा गर्नुको अर्थ कतै सरकारकै कार्यशैलीप्रति कार्की स्वयं असन्तुष्ट रहेको संकेत होइन ? काम गर्नेले थाँक्रोको सहारा खोज्नुपर्दैन ।
आदर्श र व्यवहारमा एकरूपता नहुँदा वरिष्ठ नेताहरू आलोचित बन्न पुगेका उदाहरण सर्वत्र छन् । विधान महाधिवेशनका निर्णय उल्ट्याएरै भए पनि समर्थक बढाउने र अध्यक्षको पगरी गुथिरहने चाहनाले केपी ओलीलाई नछाडेकै कारण राजधानी खलबली लम्बिएको चर्चा सुनिन्छ । उमेरहद र नैतिकतालाई आधार मानेर अष्टलक्ष्मी, युवराज र केशव बडालले सहर्ष बाटो खाली गर्दा सम्मानजनक रूपमा नयाँ नेतृत्व चयन गर्न के ले रोक्यो ? पदको भोक होइन कसरी भन्नु ?
यसरी भन्दा बस्नेत, काजी कमरेडलगायतको कन्पारो तात्ला—तातोस् । जनस्तरमा उठेका मात्र होइन, विधानतः एकपटक जायज ठहरिएका कुरालाई बेवास्ता गर्नु नैतिक रूपमा पनि पश्चगमन हो । यसो भन्दैमा ईश्वर पोखरेलको समर्थन गरिएको नठानियोस् । कुरा यत्ति हो—विधि र थिति आफैँबाट सुरु गर्नुपर्छ, अरूलाई उपदेश दिएर मात्र हुँदैन ।
पाँचौँ महाधिवेशनमा मदन भण्डारीले अपनाएको कार्यशैली अनुकरण गर्दा व्यक्तिको अहंकारमा धक्का पुग्ला, तर संगठन बलियो हुन्छ । खसोखास कुरा यही हो ।
आगे रामराम ।
टिप्पणीहरू