आयोगले गरेको म्याचिङप्रति चिकित्सक संघको आपत्ति
नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ प्रणालीप्रति आपत्ति जनाएको छ ।
चिकित्सा शिक्षा आयोगले विश्वव्यापी परीक्षाको मेरिटोक्रेसी सिद्धान्तविपरीत पारदर्शिता नभएको र प्राग्माटीजमको मर्म मिच्ने गरी म्याचिङ गरेको भन्दै संघले आपत्ति जनाएको हो ।
मेरिटोक्रेसीको सिद्धान्तविपरीत गरिएको म्याचिङ प्रणालीले समग्र विद्यार्थीलाई योग्यता तथा प्राथमिकताको आधारमा आफूले चाहेको विषय र संस्थामा अध्ययन गर्नबाट वञ्चित गराउने संघको ठहर छ ।
आयोगलाई पुनः विचार गर्न सुझाव दिँदै संघले मेरिट लिस्टमा समावेश भएका उम्मेदवारहरुलाई अपग्रेडको अवसरबाट वञ्चित नगराउन आग्रह गरेको छ । संघले आज जारी गरेको विज्ञप्तिमा आयोगले योग्य उम्मेदवारहरुलाई हतोत्साही तुल्याउने निर्णय गरेको आरोप लगाइएको छ ।
‘चिकित्सा शिक्षा आयोगले सफल उम्मेदवारहरुको मनोबल उच्च पार्दै सहजीकरणको भूमिका निर्वाह गर्नुको सट्टा योग्य उम्मेदवारहरुलाई जोखिम मोल्नुपर्ने भनि हतोत्साही गरिनु सर्वोच्च अदालतको फैसलाको भावना र मर्मविपरीत हुन जाने नेपाल चिकित्सक संघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, संघले एमडी, एमएस प्रवेश परीक्षा उत्तीर्ण सम्पूर्ण उम्मेदवारहरुको योग्यताक्रम नमिचिने गरी पारदर्शी रुपमा अघि बढ्नुपर्नेमा जोड दिएको छ । आयोगले गत चैत ९ गते स्नातकोत्तर तहको प्रथम म्याचिङ गरेको थियो । उक्त म्याचिङमा भएका उम्मेदवारलाई मेडिकल कलेजमा सम्बन्धित विषयमा भर्ना हुन आह्वान गरिएको थियो ।
टिप्पणीहरू