बानियाँमाथि यसरी लगाइँदै छ निरन्तर ब्रेक
२०७० सालमा मकवानपुरमा कम्युनिष्टको बिरासत तोडेर एकाएक उदाएका कांग्रेस नेता एवं बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँँलाई संसदीय अभ्यासमा थप रोकावटहरू भइरहेका छन् । एकदशक लामो राजनीतिक जीवनमा बलियो कांग्रेस निर्माण गरी तत्कालीन नेकपाको गठबन्धन हुँदासमेत २०७४ सालमा फरक क्षेत्रबाट जीत हासिल गरेका बानियाँ यतिखेर आफ्नैभित्र चौतर्फी घेरामा छन् । पछिल्लो उदाहरण हो– २०७९ मंसिर ४ गतेको आम निर्वाचन र त्यसपछि विकसित घटनाक्रम ।
त्यो निर्वाचनमा पनि पुरानै क्षेत्र र भूगोल अर्थात मकवानपुरको प्रतिनिधिसभा २ नं अन्तर्गत प्रदेश क्षेत्र ख मा उम्मेदवार भई गठबन्धनबाट निर्वाचित हुने र बागमती प्रदेशको मुख्यमन्त्री हुने उनको योजना थियो । तर, जसोतसो आफ्नै जोडबलमा १७ सय मतान्तरले प्रदेश सांसदमा निर्वाचित भए पनि मुख्यमन्त्री बन्ने ढोका भने बन्द गरियो । चुनावमै पराजित गठबन्धनभित्रैका दल र स्वयम् कांग्रेसले खेल नखेलेको भए १७ हजार बढी मत ल्याएर जित्नुपथ्र्याे तर जिते १७ मतले मात्रै । अझ उनी उम्मेदवार भएको प्रदेश सभा क्षेत्रकै प्रतिनिधिसभाका गठबन्धन उम्मेदवार विरोध खतिवडाले समेत हार खानुपरेको थियो । त्यो हारमा पनि बानियाँसहित कांग्रेसजनलाई खतिवडा पक्षधर नेकपा एकीकृत समाजवादीले दोषी देखाउने गरेको छ ।
बडो मुश्किलले चुनाव जितेर दोस्रोपटक बागमती प्रदेश सभामा छिरेका बानियाँको सपना त्यतिखेर तुहियो, जतिखेर माओवादी–एमाले मिलेर गठबन्धन बनी माओवादीका शालिकराम जमकट्टेल बागमतीको मुख्यमन्त्री भए । अझ चाखलाग्दो कुरा त के भने आफ्नै पार्टीभित्र बानियाँ संसदीय दलको निर्विरोध नेता बन्ने यसअघिको प्रक्षेपण असफल भयो । नुवाकोटका बहादुरसिंह तामाङले उनलाई संसदीय दलको नेतामै पराजित गरिदिए ।
यसरी निरन्तर ओरालो यात्राको यात्री बनेका बानियाँलाई राजनीतिमा फड्को मार्न बाधक बनाइएका आन्तरिक षड्यन्त्रको नालीबेली अझै सकिएको छैन । सशस्त्र द्वन्द्व र खुला राजनीतिमा आएपछि पनि सहयात्री बनेका धादिङका समकक्षी जमकट्टेल मुख्यमन्त्री भइरहँदा बानियाँ भने प्रदेशका सांसद मात्रै छन् । एकदशक यता मकवानपुरमा ठूलै आर्थिक लगानी गरी कांग्रेसलाई जुर्मुराउने गरी उठाएका र जिल्ला सभापतिसमेत भएर पूर्वी र पश्चिम मकवानपुरबाट गरी ३ पटक आम निर्वाचनमा विजय हासिल गरेका बानियाँ संघीय सरकारको गृहराज्यमन्त्रीसमेत बनिसकेका नेता हुन् । तर, आन्तरिक घेराबन्दीका कारण उनको निरन्तर ओरालो यात्रा जारी छ ।
किन र कसले रोक्छ बानियाँलाई अघि बढ्न ?
अघिल्लो प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेस संसदीय दलको नेताको हैसियतले काम गरेका बानियाँ यसपटक गठबन्धनबाट आलोपालोमा भए पनि मुख्यमन्त्री बन्ने निश्चितप्रायः नै थियो । तर, त्यो सपना पनि अब बहादुरसिंह तामाङले उडाइदिएका छन् । लामो समय संसदीय फाँटमा कार्यकारी अधिकार नहुँदा राजनीति फितलो हुने भएकाले अहिलेको प्रदेश सरकारमै भए पनि मन्त्री भएर काम गर्न बानियाँलाई आफ्ना पक्षधर कार्यकर्ताले सुझाव दिएका थिए । तर, भित्री दिलदेखि मुख्यमन्त्री ताकेका उनलाई मन्त्री हुन मन थिएन । तैपनि आर्थिक तथा योजना मन्त्रालय पाएमा आफ्नो क्षेत्र र प्रदेशका जिल्लामा योजना पठाउन सकिन्छ, पहुँच बृद्धि हुन्छ भनेर मन्त्री हुन तयार भएको स्रोत बताउँछ । तर, एकाएक उनको यो यात्रालाई पनि पूर्ण बिराम लगाइएको बताइन्छ । उनलाई मन्त्री हुनबाट रोक्न संसदीय दलका नेता बहादुरसिंह नै लागेको स्रोतले बतायो । बहादुरसिंह अहिले बागमतीमा आर्थिक मामिला तथा योजनामन्त्री छन् ।
स्रोतका अनुसार यसरी एकपछि अर्काे अवसरबाट चुक्दै, चुकाउँदै बानियाँलाई पेन्डुलम बनाइराख्ने खेलमा छन् मकवानपुरकी नेत्री एवं सभापति देउवाकी प्रिय पात्र रहेकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय । देउवा गुटबाटै उदाएका बानियाँलाई देउवाकै खास मान्छे भनिएकी डिनाबाट यस्तो धोकाधडी र निरन्तर आक्रमण हुनुमा कांग्रेसभित्रको अन्तर्घातलाई प्रमुख मानिएको छ । मकवानपुरको सबैभन्दा ठूलो स्थानीय तह हेटौँडा उपमहानगरपालिकामा डिनाका मान्छे मानिएका आनन्दराम पराजुलीलाई मेयर हुन रोक्नका लागि गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई टिकट दिलाउन भूमिका खेलेको आरोप बानियाँलाई छ । त्यसको बदलामा डिना पक्षधरले एकीकृत समाजवादीका उम्मेदवार एवं हालका मेयर मीना लामालाई पूर्ण असहयोग गरेको गठबन्धनमा रहेका नेताहरू बताउँछन् ।
त्यसो त कुरा आनन्दराम पराजुलीलाई मेयर हुनबाट रोकिएको विषयमा मात्रै लक्ष्यित छैन । मंसिर ४ गतेको निर्वाचनमा स्वयम् डिनालाई मकवानपुर क्षेत्र नं २ बाट पराजित गर्न बानियाँ पक्षले ठूलो भूमिका खेलेको आरोप छ । त्यो चुनावमा गठबन्धनलाई पराजित गर्दै राप्रपाका दीपकबहादुर सिंह प्रतिनिधिसभामा निर्वाचित भए भने सोही क्षेत्रको प्रदेश सभातर्फ फेरि आनन्दराम पराजुलीलाई पनि हराइएको छ । पराजुलीलाई कहिले मेयरमा टिकट नदिने, कहिले टिकट पाउँदा पनि हराइदिने खेल बानियाँ पक्षले खेलेकाले उनलाई अबका दिनमा ढिम्कनै नदिने गरी डिनापक्षले योजना बनाएको बुझिएको छ । सोहीअनुसार कांग्रेस संसदीय दलका नेतादेखि आर्थिक तथा योजना मन्त्रालयसम्म बानियाँलाई यतिखेर डिनापक्षधरले रोकिरहेको स्रोत बताउँछ ।
सभापति देउवाका लागि महाधिवेशनमा दह्रो ढंगले उभिएका बानियाँलाई किन देउवा पक्षकै डिनाले यसरी खेदो खनिरहेकी छन् ? एकै गुटभित्र यति ठूलो लडाइँ किन भइरहेको छ भनेर बहस जारी छ । यद्यपि, डिनालाई नै नजिक राखेर उनैको मात्र कुरा सुन्न थालेपछि बानियाँ देउवा पक्षधरबाट टाढिँदै गएको र शेखर कोइरालाको लाइनसँग निकै नजिक हुँदै गइरहेको अनुमान पनि गरिएको छ ।
टिप्पणीहरू