आयोजना सुरु भएको आठ वर्षपछि सडक कालोपत्रे सुरु

आयोजना सुरु भएको आठ वर्षपछि सडक कालोपत्रे सुरु

नयाँ शहर आयोजना चौरजहारी अन्तर्गतका सडकमा कालोपत्रेको काम सुरु भएको छ । नयाँ शहर आयोजना सुरु भएको आठ वर्षपछि चौरजहारी नगरपालिकाको वडा नम्वर १ र २ मा सडक कालोपत्रको काम सुरु भएको हो । 

नगरपालिकाको वडा नम्वर १ खोलीबजार देखि बसपार्क र वडा नम्वर २ को त्रिवेणीदेखि वडा कार्यालयसम्म कालोपत्रको काम सुरु भएको आयोजना कार्यालयले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी खिम बहादुर चन्दले आयोजना अन्तर्गतको २.७ किलोमिटर सडकखण्डमा कालोपत्रको काम सुरु भएको बताए । क्याराभान कन्ट्रक्सन प्रा.लि.काठमाडौंले उक्त कामको जिम्मा लिएको चन्दले जनाए ।

सूचना अधिकारी चन्दले निर्माण कम्पनीले उक्त कामको लागि २०७८ पुस २० गते कार्यालयसँग सम्झौता गरेको बताएका छन् । चार करोड १९ लाख रुपियाँ लागतमा २०७९ को असारमै काम सम्पन्न गर्ने सम्झौता भएतापनि निर्माण कम्पनीले ढिलो गरेर कालोपत्रे गर्न थालेको हो । सम्झौताको म्याद गुज्रिसकेकोले निर्माण कम्पनीले म्याद थपको लागि कागजात पेश गरेको नयाँ शहर आयोजना कार्यालयले जनाएको छ । 

अहिले खोलिबजारदेखि लामिछानेगाउँ हुँदै बसपार्क र त्रिवेणीदेखि २ नम्वर वडा कार्यालयसम्म कालोपत्रको काम तिब्र रुपमा भईरहेको छ । यसअघि वडा नम्वर १ कै चौरजहारी अस्पतालदेखि नाखिरागाउँ पिपलबोटसम्मको सात किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।  

सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासीहरु खुसी भएका छन् । स्थानीय अर्जुन लामिछानेले हिलाम्मे र धुलाम्य सडक कालोपत्रे हुन थालेपछि गाउँवासी हर्षित भएको बताए । उनले कालोपत्रेको काम गुणस्तरीय र समयमै हुनुपर्ने समेत माग गरेका छन् । शहरउन्मुख भएको चौरजहारीमा सडकको कालोपत्रे दिगो हुनुपर्ने स्थानीयको माग रहेको लामिछानेले उल्लेख गरे । 

यसअघि निर्माण कम्पनीले सडक निर्माणको काम समयमै नगरेपछि स्थानीय आक्रोशित बनेका थिए । बिशेष गरेर सडकको धुलोका कारण जनस्वास्थ्यमा असर परेको भन्दै विरोध हुन थालेपछि केहि समय पानी छर्केर समस्या समाधान गर्ने कोशिस भएको थियो । नयाँ शहर आयोजना कार्यालयले खोलीबजारदेखि त्रिवेणीसम्मको सडक कालोपत्रे हुने बित्तिकै चौरजहारीको मुख्य बजार लाईन कालोपत्रे हुने जनाएको छ । त्यसका लागि ठेकेदार कम्पनीले सडकको बेस तयार पारिसकेको जनाईएको छ ।

सरकारले रुकुमपश्चिमको चौरजहारीसहित देशका १० स्थानलाई नयाँ शहरको रुपमा विकास गर्ने निर्णय गरेपछि २०७२ सालमा चौरजहारी नयाँ शहर आयोजना कार्यालय स्थापना भएको थियो । 
 

टिप्पणीहरू