शरणार्थी काण्ड उठाउनेकै धन्दा पनि अचम्मको

शरणार्थी काण्ड उठाउनेकै धन्दा पनि अचम्मको

सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर करोडौँ रकम ठगेको अभियोगमा थुनामा रहेका सानु भण्डारीले काठमाडौँको तीन कुनेस्थित एक घर भाडामा लिएर ठगी धन्दा चलाएको खुलेको छ । 

नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका खेलेका सानुले पूर्वडिआइजी भरतबहादुर जिसी,अशोक पोखरेल र विदुर ढुंगानासँग मिलेर कान्तिपुर कम्प्लेक्सको पछाडि सय मीटर दक्षिणतर्फ एक घरको दुई तला भाडामा लिएर कार्यालय सन्चालन गरेको र त्यहीँबाट शरणार्थीको नक्कली परिचयपत्र बनाएको तथ्य खुलेको हो । 

 'हेल्लो नेपाल' नामको मोबाइल सिम र रिचार्ज कार्ड बेच्ने अफिसको आवरणमा सानुसहितको गिरोहले त्यसलाई मानव तस्करीको अखडा बनाएको उच्च जानकार स्रोतले बतायो । यूरोप, अफ्रिकालगायतका मुलुकमा अवैध ढंगबाट मान्छे पठाउने प्रक्रियाको कागजी काम उनीहरुले त्यही कार्यालयमा बसेर गर्ने गरेको स्रोतको दाबी छ । 

सानुको मान्छे बेच्ने उक्त कार्यालयमा एमाले सांसद टोपबहादुर रायमाझीको समेत बाक्लो आउजाउ हुने गरेको देख्नेहरुले बताएका छन् । उनले नै रायमाझी र उनको छोरा सन्दीपको संलग्नता पुष्टि हुने विभिन्न प्रमाण प्रहरी बयानका क्रममा दिएपछि त्यसैका आधारमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइन्छ । तर,हाल रायमाझी फरार छन् ।   

बताइएअनुसार सानु भण्डारीका क्रियाकलाप शंकास्पद लागेपछि पार्टनर काम गरेका भारत भने उक्त समूहबाट पहिले नै निस्किएका थिए । आफ्नो लगानी हिस्सा बापतको रकम फिर्ता लिएर उनले पार्टनरी छोडेको जानकारहरुले बताएका छन् । 

वैदेशिक रोजगारीको काम गर्ने कोटेश्वरतिर बसोबास रहेका विदुर ढुंगाना भगौडा प्रहरी हुन् । तर, उनले आफूलाई गुप्तचर प्रहरीका रुपमा चिनाउँदै ठगी धन्दा गर्ने गरेको आरोप छ । मुद्दा मामिलाका दलाली क्रियाकलापमा पनि हिँड्ने उनले न्यायाधीश सरुवा गर्नेसम्मका बातचित गर्ने गरेको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे पनि ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानुकै बयानको आधारमा पक्राउ परेका हुन् ।

यस सम्बन्धमा थप पुष्टिका लागि सम्पर्क गर्दा विदुर र भरत दुवैसँग सम्पर्क हुन सकेन । भरतले चलाएको भनिएको मोबाइल अर्कै एक जनाले उठाएर आफू 'भरत जिसी' नभएको बताए । विदुरको मोबाइल भने स्विचअफ छ ।

टिप्पणीहरू