राजावादीहरुको अभिनन्दनपछि पूर्वराजाको प्रश्न ‘के नयाँ नेपाल भनेको यहि हो ?’
पूर्वराजा ज्ञानेन्द्र शाहको आज धनगढीमा अभिनन्दन गरिएको छ । गत वैशाखमा नेपालगञ्जमा अभिनन्दन गरेपछि पूर्वराजा शाह पूर्वरानीसहित परिवारका सदस्यहरुसँगै १० दिन सीमाना जोडिएको भारतको उत्तर प्रदेशको भ्रमणमा गएका थिए ।
मुख्यमन्त्री योगी आदित्यनाथको निम्तोमा उत्तर प्रदेशको भ्रमणपछि पुनः स्थलमार्गबाट नेपालगञ्ज फर्केका पूर्वराजको आज धनगढीमा हिन्दूवादी संघ संगठनहरुले अभिनन्दन गरेका हुन् । सम्बोधनको क्रममा राजनीतिक दल र तिनका नेतामाथि निकै आक्रामक देखिएका शाहले लिखित भाषण गरेको बताइन्छ ।
मन्तव्यको क्रममा भने, ‘सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ ।’ शाहले के नयाँ नेपाल भनेको यही हो ? भन्ने प्रश्न गर्दै अगाडि भनेका छन्, ‘के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने ? सोचौं गहिरिएर सोचौं ।’
शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको इज्जत गएको टिप्पणी पनि गरेका छन् । यो प्रकरणले नेपालको अस्तित्व नै लोप हुने अवस्था बनेको र देशको गौरव हराएको चिन्ता जनाएका छन् ।
इतिहासमा वीर, परिश्रमी र स्वाभिमानीको परिचय बनाएका नेपालीहरुको आज वीरता र स्वाभिमान खोसिएको भन्दै उनले चर्को असन्तुष्टी व्यक्त गरेका हुन् ।
टिप्पणीहरू