शेखर कोइरालाको प्रश्न - तीनजना नेता बसेर संसद्को रेकर्डबाट हटाउँदैमा सँधै अनियमितता ढाकछोप हुन्छ र ?
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको भनिएको अनियमितताका सम्बन्धमा संसदमा उठेका प्रश्न रेकर्डबाट हटाउने शीर्ष नेताहरुको सहमतिलाई बिडम्बनापूर्ण भनेका छन् ।
अनियमितता ढाकछोप गर्न संसदीय गरिमालाई कुल्चेर संसदको रेकर्डबाट हटाउने काम भएको भन्दै उनले चर्को असन्तुष्टी जनाए । संसद्को रेकर्डबाट हटाउँदैमा जनतामा उठेको प्रश्न नहट्ने उनको भनाई छ ।
'कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने', उनले भनेका छन् ।
सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्ने भन्दै डा. कोइरालाले त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ? भनि प्रश्न पनि गरेका छन् । 'संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं', उनले भने ।
गत बुधबार माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत पशुपतिमा हालिएको जलहरीमा ११ किलो सुन गायव भएको विषय उठाएका थिए । प्रधानमन्त्रीको हैसियतमा उक्त अनियमितताको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने दाहालको माग थियो ।
तर, आफ्ना अध्यक्षलाई भ्रष्टाचारी भनेको भन्दै एमाले सांसदहरुले शुक्रबारको संसद बैठक अवरुद्ध पारेपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीले आपसमा सहमति गरेर जलहरीसम्बन्धी दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने निर्णय गरेका थिए । सोहीअनुसार संसद सचिवालयले उक्त अभुव्यक्ति हटाएको थियो ।
टिप्पणीहरू