मलद्वारमा सुनको झोल राखेर आएका भारतीय विमानस्थलमा रोकिए
अवैध सुन तस्करीमा प्रहरीले कडाइ गर्न थालेपछि तस्करहरुले नयाँ–नयाँ जुक्ति लगाएर ओसारपसार गर्ने गरेको पाइएको छ । यसै सिलसिलामा मलद्वारमा राखेर नेपाल भित्र्याइएको अवैध सुन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ ।
यूएईको सारजाहबाट काठमाडौँ आएका भारतीय नागरिक महमद उसिनले झोल बनाएर मलद्वारबाट पेटमा छिराई ल्याएको एक किलो ७५ ग्राम सुनसहित प्रहरीले आज दिउँसो उनलाई पक्राउ गरेको हो ।
एयर अरेबियाको उडान नम्बर जी ९–५३६ बाट नेपाल आएका केरलाका मोहमदले अस्वाभाविक गतिविधि देखाएपछि विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो । त्यसक्रममा सुनलाई तरल बनाएर मलद्वारबाट छिराई पेटमा लुकाएर ल्याएको खुलेको हो ।
पेटमा सुनको झोल राखेका उनी बाङ्गिएर हिँडेको देखेपछि आशंका लागेर सोधपुछ गर्दा घटना बाहिर आएको विमानस्थल प्रहरीले जनाएको छ ।
टिप्पणीहरू